
काठमाडौं । मकवानपुरमा चोर र घरधनीबीच झडप हुँदा तीन जना घाइते भएका छन् । गएराति इन्द्र सरोबर गाउँपालिका–३ अदुवाबारीमा चोरी गर्न आएका व्यक्तिसहित घरधनी ६३ वर्षका मीनबहादुर भ्लोन र उनकी श्रीमती देवी माया घाइते भएका हुन् ।
प्रहरीका अनुसार चोरी गर्न आएका व्यक्तिले घरमा खाना खाइरहेका भ्लोन दम्पतीलाई आँखामा खुर्सानीको धुलो छर्केर चोरी गर्न खोज्दा झडप भएको थियो । झडपमा घाइते भएका भ्लोन दम्पतीको हाल हेटौँडा अस्पतालमा उपचारका भइरहेको र चोरी गर्न आएका व्यक्तिको चितवनमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
घाइते मध्ये मीनबहादुरको करङको हड्डी भाँच्चिएको, हातमा, ढाडमा चोट लागेको छ भने श्रीमतीको आँखा र हातमा चोट लागेको छ । चोरी गर्न आएका व्यक्तिको अवस्था भने गम्भीर रहेको बताइएको छ ।
उनको टाउकोमा चोट लागेको र रगत जमेको कारण हेटौँडामा उपचार सम्भव नभएपछि चितवन पठाइएको प्रहरीले जनाएको छ । चोरी गर्न आएका व्यक्तिको हालसम्म पहिचान खुलिनसकेको प्रहरीको भनाई छ ।














