काठमाडौं । अमेरिकाबाट डिपोर्ट भएका ८ नेपाली नागरिकलाई प्रहरीले परिवारको जिम्मा लगाएको छ । बुधबार अमेरिकाले चार्टर्ड विमानमार्फत काठमाडौं पठाएका नेपाली नागरिकहरुलाई सोधपुछपछि प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले परिवारको जिम्मा लगाएको हो ।

ब्यूरोका अनुसार उनीहरुमार्फत मानवतस्करीको कुनै नेक्ससबारे जानकारी आउँछ कि भन्ने हिसाबले सोधपुछ गरिएको थियो । तर, उहाँहरुले त्यस्तो सूचना दिन नचाहेको ब्यूरोका एसपी नरेन्द्र कुँवरले बताए । उनीहरुलाई परिवारको जिम्मा लगाइएपनि रेडर्क राखिएकाले ब्यूरोले फलोअप गर्ने भएको छ ।
ब्यूरोले अमेरिकाबाट फर्काइएका नेपालीसँग विविध विषयमा सोधपुछ गरेको थियो । त्यसक्रममा उनीहरुलाई हत्कडी र नेल लगाएर ल्याएको बताएका थिए । ट्रान्जिटपछि खुट्टाको चेक भने खोलिदिएको एक जनाले बताएका छन् ।
प्रहरीका अनुसार ८ जना करिब ६ महिना अगाडिमात्रै अवैध बाटोबाट अमेरिका पुगेका थिए । उनीहरु विचौलियालाई ५० देखि ९० लाख रुपैयाँसम्म बुझाएर मध्यपूर्वी मुलुक, युरोप, दक्षिण अमेरिका हुँदै उत्तरी अमेरिका पुगेका थिए ।














