Logo
Logo

कुलमानलाई चलाउने होइन, फेल हुने सरकारले राजीनामा दिनुपर्छ: राजेन्द्र लिङ्देन


882
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारलाई चेतावनी दिँदै नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई नचलाउन आग्रह गरेका छन् ।

बिहीबारको संसद् बैठकमा बोल्दै उनले ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले कुलमानका बारेमा झुट विवरण संसद्‌मा सुनाएको भन्दै कुलमानलाई नचलाउन आग्रह गरेका हुन् ।

बिहीबारको संसद्‌ बैठकमा सांसदहरूले उठाएका प्रश्नको मन्त्री खड्काले जवाफ दिएका थिए । जवाफ दिँदै उनले कुलमानले लोडसेडिङ अन्त्य गरेको नभई भारतले गरेको बताए र भारतलाई धन्यवाद दिए ।

मन्त्रीको जवाफपछि लिङ्देनले मन्त्री झुट बोलेको बताए । ‘मन्त्रीज्यू झुट बोल्नुभयो। मन्त्रीजस्तो व्यक्तिले संसद्‌लाई झुटा विवरण दिनु हुँदैन । गलत सुनाउनु हुँदैन । र यहाँ सबै मूर्खमात्र बसेका छन् भनेर ठान्नु हुँदैन’, उनले भने ।

मन्त्रीले रोष्टमबाट कुलमानलाई बोकेर नहिँड्न प्रतिपक्ष दलका नेताहरूलाई भनेकोप्रति पनि लिङ्देन खरो उत्रिए । ‘मन्त्रीज्यू जसरी सबै प्रतिपक्षमाथि खनिनुभयो । कतिपय माननीयले भन्नुभयो एउटा कर्मचारीलाई बोकेर मात्र नहिड्नुस्’, उनले भने, ‘कर्मचारीलाई सरकारले आफ्नो कारिन्दा मात्र ठान्छ भने, नोकर सम्झेर व्यवहार गर्छ भने त्यस्ता कर्मचारीका पक्षमा हामी उभिन्छौँ । हामी कसैलाई अन्याय हुन दिन्नौँ र त्यस्ता झुटा कुरा सुनेर पनि हामी बस्दैनौँ ।’

उर्जामन्त्री खड्काले कुलमानले लोडसेडिङका लागि केही नगरेको जसरी प्रस्तुत भएपछि लिङ्दनेले त्यसको प्रतिवादसमेत गरे । ‘यो कुरा पनि याद राख्नुस् । तपाईंका त्यस्ता झुटा कुरा हामी मान्न तयार छैनौँ । कुलमान घिसिङ ८ वर्ष अगाडि कार्यकारी निर्देशक हुँदाखेरी नेपाल विद्युत प्राधिकरण ३५ अर्ब घाटामा थियो। अहिले ८७ अर्ब कमाएर त्यो ३५ अर्ब तिरेर ५२ अर्ब खुद नाफामा छ।’

कुलमानले केही नगरेको भन्ने सरकारलाई पहिला आफ्नो कार्यसम्पादन हेर्न लिङ्देनले आग्रह गरे । ‘कुलमान घिसिङलाई म्याद तोकेरै कार्यसम्पादन मूल्याङ्कन माग्ने । त्यो ढिलो दिएकै आधारमा शून्य अङ्क दिने र त्यसको आधारमा कारबाही गर्ने भन्ने सरकार आफै फेल छ नि। सबैभन्दा धेरै बजेट हुने भौतिक मन्त्रालय त ८ प्रतिशत अङ्क ल्याएको छ,’ उनले भने, ‘आफै फेल हुने सरकारले पहिला त नैतिकताका आधारमा राजीनामा दिनुपर्‍यो । मन्त्री फेर्नुपर्‍यो। र अनि मात्र कर्मचारीलाई डण्डा चलाउने।’

प्रतिक्रिया दिनुहोस्