काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रास्वपाका सभापति रवि लामिछनेको सांसद पद निलम्बन हुनुलाई अनुचित भएको बताएका छन् ।

मंगलबार प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले अर्को प्रतिपक्षी दलको नेतालाई अनुचित ढंगले निलम्बन गरेको भन्दै भने, ‘अर्को प्रतिपक्षी दलको नेतालाई अनुचित ढंगले निलम्बन गरिएको छ र त्यसले लोकतन्त्रप्रति जनाआस्थामा पारेको प्रभाव आफैं मूल्यांकन गर्नुहोस् ।’
प्रचण्डले रविबारे सरकारले लिएको नीति र त्यसअनुसार गरिरहेको गतिविधिले लोकतन्त्रलाई मद्धत नगरिरहेको बताए । उनले भनेका छन्, ‘हिरासतमा नभएको नेतालाई सदनमा आउन दिने प्रचलन हामीले पहिला स्थापित गरिसकेका छौं । सदनभित्रै बहस गराउँदा मात्र लोकतन्त्र सुदृढ गर्न मद्धत गर्छ । ठाउँ ठाउँ घुमाएर हुर्मत लिने कामले लोकतन्त्रलाई, मद्धत गर्दैन ।’
गत ८ पुसमा सभामुख देवराज घिमिरेले लामिछानेको सांसद पद निलम्बन हुने निर्णय गरेका थिए । लामिछानेविरुद्ध सहकारी ठगी, संगठित अपराधसहित सम्पत्ति शुद्धीकरणमा पनि कास्की जिल्ला अदालतमा अभियोगपत्र दर्ता भएको जानकारीपत्र प्रहरीले सभामुख देवराज घिमिरेलाई पत्रमार्फत गराएको थियो ।
सोही पत्रको आधारमा सभामुख घिमिरेले लामिछानेको सांसद पद निलम्बन हुने निर्णय लिएका थिए ।














