जनकपुरधाम । होली खेल्ने क्रममा छुरा प्रहारबाट हत्या भएका १८ वर्षीय आशु यादवको शव सडकमा राखेर आफन्त र स्थानीयले प्रदर्शन गरेका छन् ।

प्रहरीका अनुसार जनकपुरको जलेश्वर सडकखण्डमा यादवको शव राखेर उनका आफन्त र स्थानीयले प्रदर्शन गरेका हुन् । उनीहरूले युवकको शवसहित जनकपुर–जलेश्वर सडकखण्ड अवरुद्ध गरेका छन् ।
उनीहरूले घटनामा संलग्न अन्य दोषीहरुलाई यथाशीघ्र पक्राउ तथा क्षतिपूर्तिको माग गर्दै सडकमा शव राखेर प्रदर्शनमा उत्रिएको हो । प्रहरीका अनुसार शनिबार साँझ ५ बजेतिर होली खेल्ने क्रममा विवाद हुँदा स्थानीय लक्षमण महतोका छोरा २१ वर्षीय धर्मेन्द्र महतोले आशुमाथि छुरा प्रहार गरेका थिए ।
छाती, ढाड र पेटमा छुरा प्रहारबाट गम्भीर घाइते आशुको उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा शनिबार साँझ करिब ६ बजे मृत्यु भएको थियो । प्रहरीले तत्कालै छुरासहित धर्मेन्द्रलाई पक्राउ गरेको थियो ।














