कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७, सिमलफाँटाका ६२ वर्षीय मानबहादुर धानुक २८ वर्षपछि घर फर्किएका छन्। उनको अप्रत्याशित आगमनले परिवारका सदस्यहरू अचम्ममा परे। जब उनी अटोबाट झरेर घरको आँगनमा आइपुगे, एकछिन सबै अक्क न मक्क भए।

धेरै वर्ष अगाडि घर छाडेका धानुकलाई आफ्नो बस्ती पहिलेकै अवस्थामा नभएको थाहा पाएपछि घर पत्ता लगाउन कठिनाइ भयो। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको विस्तारका कारण तारापुर बस्ती स्थानान्तरण भएको हुँदा उनले आफ्नो घर खोज्न समय लगाए। भारतको उत्तर प्रदेशको बनारसबाट बस चढेर महेन्द्रनगर आइपुगेका धानुकले पुराना चिनजानका व्यक्तिहरूसँग सम्पर्क गरेपछि मात्र आफ्नो घरको वास्तविक ठेगाना पत्ता लगाए।
महेंद्रनगर हुँदै झलारी बजार झरेपछि चिनजानका व्यक्तिहरू भेटिए। उनीहरूकै सहयोगमा धानुक सिमलफाँटा पुगे। चिनजानकै व्यक्तिले अटो चालकलाई उनलाई घरसम्म पुर्याइदिन आग्रह गरे, जसले गर्दा उनी शनिबार घर आइपुग्न सके। उनको घर फिर्तीमा भने एक ६५ वर्षीया धर्म आमाको ठुलो हात थियो। ती धर्म आमासँगै उनकी १३ वर्षीया नातिनी पनि नेपाल आइन्।
“छोरा छोरी सानै थिए, उनीहरूलाई चिन्न सकिनँ, तर आमा र श्रीमतीले मलाई तुरुन्तै चिने,” धानुकले भावुक हुँदै भने, “धेरै वर्षपछि परिवारसँग भेट हुँदा खुसीको सीमा छैन।” विसं २०५३ मा रोजगारीको खोजीमा जयपुर पुगेका उनी विभिन्न ठाउँमा काम गर्दै भौतारिन बाध्य भए। थोरै कमाइले खान र लुगाफाटोमै सकिने भएकाले घर फर्कन असमर्थ थिए। लामो समयसम्म सम्पर्कविहीन भएपछि बिस्तारै घरको ठेगाना नै बिर्सने अवस्थामा पुगे।
जयपुरमा बस्दा उनले एक मित्रसँग गहिरो सम्बन्ध बनाएका थिए। ती मित्रको ससुराली बनारसमा भएकाले उनीहरू त्यहाँ आउने(जाने गर्थे। मित्र बिरामी भएपछि धानुकले उनलाई रगत दिएर ज्यान बचाए, जसका कारण ती मित्रकी सासुले उनलाई धर्मपुत्रका रूपमा स्वीकार गरिन्। ती वृद्धा आमाले उनलाई बस्नका लागि जमिन दिन चाहिन्, तर धानुकले अस्वीकार गरे। “धर्म आमाले परिवारसँग भेट्नुपर्छ भनेर कर गरेपछि म घर फर्किन सहमत भएँ,” धानुकले भने, “अब म भारत फर्कन्न।”
धानुकका ३३ वर्षीय छोरा गणेशबहादुरले यति लामो समयपछि बुबालाई भेट्दा असीम खुसी लागेको बताए। “सानै छँदा बुबाले छाडेर जानुभएको थियो,” उनले भने, “अहिले आएर बुवालाई भेट्दा परिवारमा खुसी छाएको छ।” धानुकलाई भेट्न छिमेकी तथा आफन्तहरूको आउजाउ जारी छ।
स्थानीय समाजसेवी भरतबहादुर विष्टले धानुकलाई घर ल्याउन उनकी धर्म आमाको भूमिका महत्वपूर्ण रहेको बताए। “धर्म आमाको योगदान प्रशंसनीय छ,” उनले भने, “मानबहादुरलाई यत्तिका वर्षपछि गाउँ फर्किएको देख्दा हामी सबै खुसी छौँ।”
घर फर्किएका धानुक अहिले परिवारसँग रमाइरहेका छन्। उनका दुई छोरा, एक छोरी, श्रीमती, आमा, भाई र भतिजा छन्। अब उनले बाँकी जीवन परिवारसँग बिताउने निर्णय गरेका छन्।














