Logo
Logo

इजरेली सेनाद्वारा गजामा १५ स्वास्थ्यकर्मीको हत्या भएको स्वीकार


504
Shares

काठमाडौं । मार्च २३ को बिहान गजाको राफा नजिक मानवीय सहायताका लागि गएका १६ जना स्वास्थ्यकर्मीमाथि इजरेली सेनाले अन्धाधुन्ध गोली चलाउँदा १५ जनाको ज्यान गयो। सुरूमा इजरेली सेनाले गाडी शङ्कास्पद देखिएको भन्दै गोली चलाइएको दाबी गरे पनि, पछि उनीहरूले गल्ती स्वीकार गरेका छन्।

आईडीएफले पीडितहरू साइरनविनाको गाडीमा, स्वास्थ्यकर्मी पोशाकबिनै यात्रा गरिरहेका थिए भन्ने दाबी गर्दै आफूहरू हमासका लडाकू भएको शंकामा निशाना बनाएको जनाएको थियो। तर घटनामा बाँच्न सफल एक स्वास्थ्यकर्मीले गाडीमा साइरन थियो, सबै जनाले पोशाक लगाएका थिए, र कोही पनि हतियारधारी थिएनन् भनेका छन्।

जब घटनास्थल नजिक चिहानबाट भेटिएको एक शवको मोबाइलमा खिचिएको भिडिओ सार्वजनिक भयो, त्यसपछि स्वास्थ्यकर्मी पोशाकबिनै यात्रा गरिरहेका थिए भन्ने दाबी झुटो साबित भयो । भिडियोमा तीन वटा एम्बुलेन्स साइरन बजाउँदै गइरहेका छन्, र स्वास्थ्यकर्मीहरू ओर्लिए लगत्तै गोली वर्षा सुरु हुन्छ। भिडिओ खिच्ने रेफात रेबवान नामक स्वास्थ्यकर्मी पनि मारिएका थिए।

६ मिनेट लामो भिडिओमा गोली चलेको आवाज, मानिसहरू ढलिरहेको दृश्य, र एक जना प्रार्थना गरिरहेको आवाज स्पष्ट सुन्न र देख्न सकिन्छ।

घटनापछि इजरेली सेनाले ‘एक गम्भीर गल्ती’ भएको स्विकार्दै छानबिन सुरु गरिएको जनाएको छ। अन्तर्राष्ट्रिय समुदायले यस घटनालाई युद्ध अपराधको संज्ञा दिँदै इजरेलमाथि आलोचना गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्