Logo
Logo

राजेश राईलाई यसरी रुवाए


विमल उप्रेती

5.7k
Shares

विराटनगर । नेकपा (एमाले) निकट पत्रकारहरूको संगठन प्रेस चौतारी नेपालको १०औँ राष्ट्रिय महाधिवेशन विराटनगरमा सकिएको एक साता बितिसकेको छ । तर, आफूलाई अध्यक्ष केपी शर्मा ओलीका खास दाबी गर्ने नेकपा (एमाले)का नेता र चौतारीका नेताहरूले भने अझै प्रेस चौतारीको महाधिवेशनको बारेमा स्पष्टीकरण र टिप्पणी दिँदै हिँडिरहेका छन् ।

अध्यक्षमा चुनाव लड्न वञ्चित गरिएका राजेश राईले भने ‘कोशिका कुरा सप्तकोशीमा बगाउन’ अनुरोध गरेर आफ्नै काममा रमाइरहेका छन् । उनको एउटै गुनासो छ, ‘मैले गएका तीन वर्षमा पार्टी अध्यक्ष र पार्टीको रक्षाको निम्ति करिब ३४५ लेख लेखेछु । अनेकौँ अभियानको मिडिया नेतृत्व गरेँ । तर मेरै आदरणीय अध्यक्षको नाम लिएर मलाई धम्काइयो, अपमानित मात्रै होइन अत्याचार गरियो ।’ सामाजिक सञ्जालमा भिडियो कविताहरू पोस्ट गरेर रमाइरहेका राईले टिप्पणीहरूलाई बेवास्ता गर्न अनुरोध गरेका छन् ।

तर यता नेकपा (एमाले)का जनसङ्गठनहरू हेर्ने जिम्मा पाएका नेता जनसंगठन समन्वय संयन्त्रका प्रमुख एवं स्थायी कमिटी सदस्य भानुभक्त ढकालको मुखमा नै प्रेस चौतारी भएको छ । उनले कार्यक्रम र बैठकहरुमा प्रेस चौतारीमा सर्वसम्मत भएको दलिल पेश गर्दै हिँडिरहेका छन् । उनले एक अनलाइनसँग भनेका छन्, ‘९९ जनाकै नाम सर्वसम्मतिले टुङ्गिएको हो । तर एमाले मन नपराउनेहरुले महाधिवेशन हलमा चुनावको माग गरेर हस्ताक्षर गरे ।’

ताकी पार्टीका नेता र चौतारीका संस्थापन पक्षका नेताहरूको कारबाहीको चेतावनी र धम्कीको बिचमा पनि १०औँ राष्ट्रिय महाधिवेशनमा ५ सय भन्दा बढीले चुनावको माग गरेर हस्ताक्षर गरेका थिए । नेता ढकालले ती सबैलाई एमाले मन नपराउने भनेर व्याख्या गरेका छन् । तर हस्ताक्षर गर्नेमा चौतारीका प्रतिनिधिहरू भएर आएका धेरै पार्टीका जिल्लाका पदाधिकारी, पार्टी प्रदेश कमिटीका सदस्यहरू समेत छन् । ती सबैलाई उनले एमाले मन नपराउने भनेका छन् ।

महाधिवेशन सकिएको एक साता बित्दा पनि नेकपा (एमाले)का नेताहरूलाई प्रेस चौतारीको महाधिवेशनले घरी घरी किन झस्काइरहेको छ त ? त्यसको कारण हो, ‘उनीहरूले चौतारीका प्रतिनिधिहरू माथि भएको अपमान र अध्यक्षका उम्मेदवारी राजेश राईमाथि गरेको अत्याचार ।’

सचिवालय निर्णयको गाईजात्रा

एमालेको मूल नारा छ, ‘साङ्गठनिक अराजकताको अन्त्य गरौँ ।’ तर प्रेस चौतारीको महाधिवेशन सन्दर्भमा एमालेको यो नारालाई नै गिज्याउने निर्णय पटकपटक फेरिए । १६ फागुन २०८१ मा प्रेस चौतारी नेपालको नेतृत्व बारेमा प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नै निर्णय सुनाए ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा चौतारी महाधिवेशन बारेमा ब्रिफिङ्ग गर्न गएका जनसङ्गठन संयन्त्रका प्रमुख भानुभक्त ढकाल, प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतम र अध्यक्ष गणेश बस्नेतलाई अध्यक्ष ओलीले निर्णय सुनाएका थिए, ‘प्रचार तथा प्रकाशन विभागको सचिव गणेश पाण्डे, चौतारी अध्यक्ष राजेश राई, उपाध्यक्ष हिरामान लामा र महासचिव चेतन अधिकारी ।’

अध्यक्ष ओलीको सोही निर्देशन अनुसार १८ फागुन २०८१ मा ओलीकै अध्यक्षतामा भएको बसेको पार्टी सचिवालय बैठकले गणेश पाण्डेलाई प्रचार तथा प्रकाशन विभागको सचिवमा मनोनित गरेको थियो । पार्टी पदाधिकारी बैठकमा अध्यक्ष ओलीले पाण्डेलाई प्रचार सचिव बनाउने निर्णय सुनाएपछि वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले प्रश्न गरेपछि अध्यक्ष ओलीले अहिलेको आवश्यकता प्रष्टीकरण दिएका थिए ।

चौतारीमा अध्यक्षमा तीन जना दाबेदार थिए । चार उपाध्यक्षमध्ये सबिन प्रियायन र देबिका घर्तीमगर नेपाल पत्रकार महासंघको जिम्मेवारीमा गएका छन् । दुई उपाध्यक्ष गणेश पाण्डे, राजेश राई र महासचिव हिरामान लामा दाबेदार थिए । उपाध्यक्ष गणेश पाण्डेलाई प्रचार तथा प्रकाशन सचिवको जिम्मेवारी दिएर राजेश राईलाई अध्यक्षमा व्यवस्थापन गरिएको थियो । महासचिव लामाले भने राजेश राई अध्यक्ष बन्दा आफूले बाधक नहुने बताएका थिए ।

तर ६ चैत २०८१ मा अध्यक्ष ओलीले आफूले यसअघि गरेका आफ्नै निर्णय उल्टाए । जनसंगठन समन्वय संयन्त्रका प्रमुख भानुभक्त ढकाल, प्रचार विभाग प्रमुख राजेन्द्र गौतम र प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेतलाई बालुवाटार बोलाएर गणेश पाण्डेलाई अध्यक्ष बनाउन निर्देशन दिए । स्रोतका अनुसार अन्तिम अवस्थासम्म अध्यक्ष गणेश बस्नेत भने राजेश राईको पक्षमा उभिएका थिए ।

अध्यक्ष ओलीको आदेशपछि ८ चैत २०८१ मा पाण्डेले प्रचार तथा प्रकाशन विभागको सचिवबाट राजीनामा दिए । अध्यक्ष ओलीकै निर्णय अनुसार दुई साता अध्यक्षको रूपमा बधाई खाएर हिँडेका उपाध्यक्ष राजेश राई जिल्लिए । त्यसपछि राईले अध्यक्षमा उम्मेदवारी घोषणा गरे । निर्वाचन माग्दै नेताहरू नेताहरूको घरदैलो गरे । अध्यक्ष ओलीलाई भेट्न अनेकौँ प्रयास गर्दा पनि भेट नदिएपछि महासचिव शंकर पोखरेल लगायतलाई भेटेर प्रतिस्पर्धाको अवसर दिन अनुनय विनय गरे ।

कोशीमै कोतपर्व

अध्यक्षमा दाबेदारी गरेका राईको गृहजिल्ला पनि उतै कोशीको भोजपुर हो । तर अध्यक्षमा चुनाव घोषणा गरेपछि अध्यक्ष ओलीको नाम लिएर नेताहरूले राजेश राईमाथि अत्याचार सुरु गरेका थिए । अध्यक्षमा उम्मेदवारी घोषणा गरेर ९ चैतमा काठमाडौंदेखि विराटनगर हिँडेका राईलाई विराटनगर विमानस्थलमा लिन एउटा ठूलो समूह हिँड्न लागेका थिए । चौतारी र पार्टीका नेताहरूले ‘राजेश राईलाई लिन जानेहरूमाथि कारबाही हुन्छ’ भन्दै धम्काएका थिए ।

१० चैतमा चौतारीको अधिवेशन उद्घाटनका लागि अध्यक्ष ओली जाने भनिएको थियो । तर महासचिव शंकर पोखरेललाई अध्यक्ष ओलीले पठाए । प्रमुख अतिथि भएर आएका महासचिव पोखरेलले विराटनगरको धरान रोडस्थित मनास्लु इन होटलमा महाधिवेशनको उद्घाटन सुरु हुनअघि होटल बिगमा राईलाई सम्झाउन बोलाएका थिए ।

बैठकमा थिए, महासचिव पोखरेल, प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतम, जनसंगठन संयन्त्र प्रमुख भानुभक्क्त ढकाल, कोशी इन्चार्ज शेरधन राई र एमाले कोशीका अध्यक्ष घनश्याम खतिवडा । महासचिव पोखरेलसहित सबै नेताहरूले पार्टीको निर्णय मान्न अनुरोध गरेका थिए । तर राईले आफूमाथि न्यायको आँखाले हेर्न अनुनय विनय गर्दै प्रतिस्पर्धा गर्ने अवसर दिन अनुरोध गरेका थिए ।

बैठकमा सहभागी एक नेताका राईले धरी–धरी रुँदै आफूले २२ वर्ष चौतारीमा काम गरेको, कुनै अवसर नलिएको÷नपाएको भन्दै चुनावी प्रतिस्पर्धा गर्ने अवसर दिन अनुरोध गरेका थिए । उत्तरमा महासचिव पोखरेलले भनेका थिए, ‘चुनाव हुँदा तपाई जित्नुहुन्छ, तर यस्तो बिन्दुमा आइपुग्यो की तपाई जित्दा पार्टी अध्यक्ष हारेको सन्देश जानेभयो, अध्यक्ष हार्नु भनेको पार्टी हार्नु हो, देश हार्नु हो ।’ ढकालले भने निर्वाचन मागेका राईलाई पटकपटक पार्टी छोडेर जान सकिन्छ भन्दै धम्काएका थिए ।

राईले हलमा प्रतिनिधिहरूको भावना बुझेर काठमाडौं फर्किएपछि अध्यक्ष ओलीलाई निर्णयमा पुनविचार गरिदिन अनुरोध गरिदिन महासचिवलाई अनुनय विनय गरेका थिए । उद्घाटन चलिरहेको बेला प्रतिनिधिहरूले चुनावको माग गर्दै हस्ताक्षर अभियान चलाएका थिए ।

प्रतिनिधिहरूले चुनावको माग गरेपछि अध्यक्ष गणेश बस्नेत, प्रचार प्रमुख गौतम र जनसंगठन संयन्त्र प्रमुख ढकालले प्रतिनिधिहरूलाई चेतावनीको शैलीमा त्यसो नगर्न भनेका थिए । गौतमले एमालेको जनवर्गीय संगठन भन्दै निर्वाचन माग्ने नाममा दुई बित्ता नउफ्रिनसमेत चेतावनी दिए ।

उता संगठनका अध्यक्ष गणेश बस्नेत झनै उग्र भएर निर्वाचनका लागि हस्ताक्षर गर्नेलाई कारबाहीदेखि यदि त्यो परिस्थिति आए आफूले आत्महत्या चेतावनी दिए । महासचिव पोखरेलले पनि चुनाव नहुने सर्वसम्मत गर्नुपर्ने मञ्चबाटै निर्देशन दिए । नेताले मञ्चबाट चेतावनी, धम्की र उर्दीसहित थर्काइरहँदा पनि प्रतिनिधि भने निर्वाचनमा जानैपर्ने भनिरहेको बेला नेता परशुराम बस्नेतले प्रतिनिधिहरूलाई एक एक बोलाएर चुनाव नहुने धम्की दिइरहेका थिए ।

महाधिवेशन स्थलमा सोमबार फ्लेक्स बोर्ड र पुस्तिका नै डुलाएर हस्ताक्षर संकलन तीव्र पारिएपछि बिदा हुँदै गरेका अध्यक्ष गणेश बस्नेतले कारबाहीको चेतावनी दिए । उनले त्यस्ता गतिविधिलाई अराजकताको संज्ञा दिँदै कारबाही गरेर निकाल्ने, मनोनीतको नाम काटिदिनेसहितका धम्की दिइरहे । महाधिवेशन स्थलमा धाकधम्की, डरत्रास सबै थियो ।

भानुभक्त ढकाल नेतृत्वको अध्यक्षमण्डलले राजेशको निर्वाचन चाहनालाई रोक्न निर्वाचन प्रक्रियामा मनोनयन र मतदान कार्यक्रम नै गायब बनायो । सोमबार अपरान्ह ४ बजेर २० मिनेटसम्ममा उम्मेदवारको अन्तिम सूची टाँस्ने भनियो । तर, न त सूची टाँसियो, न मनोनयन पत्र नै बाँडियो । तर अनौठो के भने त्यसको १० मिनेटमै अर्थात् ४ः३० बजे अन्तिम मतपरिणाम सार्वजनिक गर्ने सूची टाँसिएको थियो । मनोनयन र मतदान कार्यक्रम गायब पारियो ।

काठमाडौं फर्किएपछि धन्यवाद लेख्दै राईले त्यसलाई अमानवीय व्यवहार प्रदर्शन भएको उल्लेख गरेका छन् । फेसबुकमा लेखेका छन्, ‘पार्टी, संगठन र मूल नेतृत्वको पक्ष वा विपक्षको भाष्य निर्माण गरेर मलाई माया गर्ने अग्रज र साथीहरूमाथि अकल्पनीय मात्रै होइन, कतिपय सन्दर्भमा अमानवीय व्यवहार प्रदर्शन भयो । अग्रज र प्रतिनिधि साथीहरूका कुरा सुन्दा मनै अमिलो भयो । मनमा यति धेरै गाँठा परे, चोटका कति ज्वारभाटा उठे, यहाँ भनिसाध्य छैन । चोट र घाउको हिसाब गर्न समर्थ त्यस्तो कुनै गणित हुँदैन । आदरणीय अग्रज र प्रिय साथीहरू, मलाई समर्थन गर्दा तपाईंहरूले जुन अपमान बेहोर्नुभयो, मलाई माया गर्नुको जुन मूल्य चुकाउनुभयो, त्यसका निम्ति शिर झुकाएर माफी माग्छु । उहाँहरूका ती व्यवहारबारे मैले धेरै भन्नु छैन, कुनै दिन फर्केर उहाँहरू आफैँले आत्मसमीक्षा गर्नुहोला ।’

अध्यक्ष मण्डलमा रहेका भानुभक्त ढकाल, राजेन्द्र गौतमहरूले कुनै पनि हालतमा निर्वाचन नहुने सन्देश पटक–पटक दिए । बरु कारबाही गर्ने तर निर्वाचन नहुने सन्देश पाएपछि राई मञ्चमा उभिएर बोल्न तयार भए । राईले लेखेका छन्, ‘मैले उम्मेदवारीको मनोनयन फारम मागिरहँदा नेताहरूले भन्नुभयो, ‘निर्वाचन कुनै हालतमा हुन दिन्नौँ ।’

उहाँहरूको प्रश्न थियो, ‘निर्वाचन मागेर संगठन÷पार्टीबाट निकालिने कि मञ्चमा उभिएर फिर्ता भएको जानकारी दिने ?’ उहाँहरूले त कति सजिलो गरी सोधिदिनुभयो, तर मेरा लागि यो प्रश्न मुटुलाई पहाडले किचे जस्तो भयो । कतै आकाश झरे जस्तो, धर्ती हल्लिए जस्तो पनि । म पार्टी, संगठन र आन्दोलनमा लागेको कुनै एक थान पदका लागि होइन, थिएन । मैले सम्झेँ, मेरो उर्वर काल, मेरो प्रिय संगठनको लोगो, प्रिय पार्टीको प्रिय झन्डा, मलाई माया गर्ने अग्रज र साथीहरूका अनुहार । उहाँहरूको बेहिसाब माया, हार्दिक समर्थन र न्यानो काख । मेरो हृदयले भन्यो, ‘यति धेरै माया गर्ने साथीहरूको न्यानो माया छोडाएर टाढा भगाउनेहरूलाई सहयोग पुग्ने गरी निर्णय लिन मिल्दैन । हुन्न ।’ मेरो विवेकले भन्यो, ‘इतिहासको रथ कहिल्यै रोकिएर बस्दैन, घुमिरहन्छ ।’ हो, मैले हृदयको आवाज सुनेँ । दिमागको निर्देशन मानेँ । र, उक्लिएँ मञ्चमा । मुटुमा सय फन्को गाँठो पारेर मञ्चबाट प्रतिनिधि साथीहरूलाई धरधरी रुवाएर भनेँ, ‘मलाई माफ गर्नुहोला, म पछि हटेँ है ।’ मनोनयन फारम नै नपाएपछि उम्मेदवारी फिर्ता लिएको भन्न मिल्दैन । पछि हटेको हो ।’

पार्टीबाटै निकालिने अवस्था आएपछि राईले मञ्चमा गएर ३९ मिनेट आफ्नो धारणा राखे । उनले बोलिरहँदा हलमा सन्नटा छाएको थियो । उनले आफूमाथि अन्याय भएको भन्दै राजेश राईहरु माथिको अन्याय र प्रश्न अन्तिम होस् भने ।

उनले भनेका थिए, ‘पार्टीलाई जीवन दिने कसम खाइरहँदा मलाई लागेको थियो, सबैभन्दा अग्लो विश्वास हो, पार्टीमा लाग्नु भनेको न्यायको झन्डा बोक्नु हो, समानताको झन्डामुनि गोलबन्द हुनु हो । तर, यस्तो भाष्य निर्माण गरियो कि राजेश राईले जित्दा पार्टी हार्छ, अध्यक्ष हार्छ । पार्टीलाई जीवन दिन्छु भनेर हिँडेको मान्छे पार्टीको आन्तरिक प्रतिस्पर्धामा जित्दा पार्टी वा अध्यक्ष हार्छ भन्ने भाष्य कहाँबाट निर्माण भयो ? यस्तो भाष्यको निर्माता वा यस्तो भाष्य कोरल्ने कारखाना कहाँ छ ?’

राईले प्रतिस्पर्धाको माग गर्दा प्रतिनिधिहरूमाथि कारबाहीको धम्की आएको भन्दै गुनासो पोखे । उनले फर्किएपछि पनि लेखेका छन्, ‘प्रेस चौतारी नेपाल नेकपा (एमाले) को पेसागत जनसंगठन हो । हाम्रो मार्गदर्शक सिद्धान्त माक्र्सवाद, लेनिनवाद र जनताको बहुदलीय जनवादले भन्छ, ‘प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गर ।’ जननेता मदन भण्डारीले त्यसअतिरिक्त प्रतिस्पर्धा र पहलकदमीका आधारमा श्रेष्ठता हासिल गर्ने सन्दर्भमा थप व्याख्या गर्नुभएको छ । हामीले संगठन निर्माणलाई यही आलोकमा गर्नुपर्छ । जबजको व्यावहारिक प्रयोग गर्दा पार्टी कमजोर होइन, बलियो हुन्छ । सबै मनोविज्ञानहरूको सम्बोधन पनि हुन्छ । तर, यसको व्यावहारिक प्रयोग किन बन्देज गरियो ?’

रुनेलाई पनि धम्की

राई ३९ मिनेट बोलेर हलबाट निस्किएपछि हल र हल बाहिर रुवाबासी चलेको थियो । हल र हलबाहिर रुवाबासी चलेपछि भानुभक्त ढकाल छोटो बोलेर बाहिरिए । प्रचार प्रमुख तथा चौतारी इन्चार्जले राजेन्द्र गौतमले भने मञ्चबाटै रुने प्रतिनिधिहरूलाई ललकारेरल बोलेका थिए । उनले राजनीति भावना र आँसुले नचल्ने भन्दै आफ्नै गतिमा जाने बताएका थिए ।
त्यसपछि प्रतिनिधिहरूले रुनसम्म बन्देज लगाउन खोजिएको भन्दै गुनासो पोखिरहे ।

काठमाडौं फर्किएपछि राईले पनि रुनसमेत नदिएको भन्दै गुनासो लेखेका छन् । उनले फेसबुकमा लेखेका छन्, ‘आँसु मैले होइन, हलका ९० प्रतिशत साथीहरूले बगाउनुभयो । फेरि भन्छु, आँसु कसैको फरमान र आज्ञामा होइन, केवल हृदयको आदेशले आउने हो । आँसुमाथिको प्रश्न वा आँसुको अपमान सबैभन्दा निकृष्ट कर्म हो ।’

राईले आफूमाथि चरम अन्याय र विभेद भएको गुनासो गरेका छन् । यो प्रकरणलाई उनले ऐतिहासिक अन्यायको श्रृंखलाको रुपमा समेत संकेत गरेका छन् । उनले फेसबुकमा लेखेका छन्, ‘हाम्रा लागि अपमान, अन्याय, विभेद, तिरस्कार कुनै नयाँ विषय नै होइन । हामी त यहाँसम्म यही तिरस्कार र अपमानको लामो शृंखलाको सप्तकोशी पौडेर यहाँसम्म आएका हौँ । अन्याय र विभेदका अनगिन्ती सगरमाथा चढेर यहाँसम्म आएका हौँ । इतिहासमा आँसुको कोशी तरेर आएका मान्छे हौँ ।’

प्रतिक्रिया दिनुहोस्