Logo
Logo

अश्रुग्यास प्रहारपछि आवेगमा आए : रविन्द्र मिश्र


3k
Shares

काठमाडौं ।  राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले अश्रुग्यास प्रहारपछि आफू आवेगमा आएको स्वीकार गरेका छन् । आइतबार काठमाडौं जिल्ला अदालतमा बयान दिँदै मिश्रले १५ चैतको तीनकुने प्रदर्शनका क्रममा अश्रुग्यास लागेपछि आफू सामान्य अवस्थामा नरहेको बताएका हुन् ।

उनले भने, ‘मेरो आँखै र नाकअगाडि अश्रुग्यास पड्किएपछि आँशु झार्दै नवराजजीलाई बचाएँ । त्यसपछि म स्वाभाविक रूपमा अलिकति आवेगमा आएको हुँ ।’

तीनकुनेमा राजावादी समूहको प्रदर्शनपछि प्रहरीले मिश्रलाई राति पक्राउ गरेको थियो । त्यसयता उनी काठमाडौं जिल्ला प्रहरी परिसरमा हिरासतमा छन् । अदालतमा मिश्रले विरोध प्रदर्शनका क्रममा नागरिकलाई अघि बढ्न भनेको आधारमा आफूलाई एक महिना हिरासतमा राखिएको बताए । उनले भने, ‘जति समय हिरासतमा राखिन्छ, राज्य झन् खलनायक बन्दै जान्छ ।’

मिश्रले आन्दोलनका क्रममा आफूले हिंसा उक्साउने खालका कुनै अभिव्यक्ति नदिएको स्पष्ट पारे । ‘के मैले प्रहरी घेरा तोड्न भनेको थिएँ ? संसद् जलाऔँ भनेको थिएँरु ढुंगा हान भनको थिएँ ?’ भन्दै उनले न्यायाधीशसमक्ष प्रश्न उठाए ।

उनले आमाको मुख हेर्ने दिनमा आमालाई भेट्न रिहा हुन चाहेको आग्रह गरे । तर सरकारी वकिलले मिश्रको अनुसन्धान नसकिएको भन्दै थप २० दिन हिरासतमा राख्न अनुमति दिन अदालतमा माग गरेका छन् । यसअघि अदालतले तीन दिन म्याद थप गरेको थियो । 

प्रतिक्रिया दिनुहोस्