
काठमाडौं । मन्त्रिपरिषद्को नियमित बैठक आज बस्दैछ । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा साँझ ५ बजे बस्ने भएको हो ।
बैठकमा मन्त्रालयहरूबाट प्रस्तुत गरिएका नियमित प्रस्तावमाथि छलफल तथा निर्णय हुने छ भने आन्दोलनरत शिक्षक तथा कर्मचारीका मागका विषयमा छलफल हुने बताइएको छ ।
त्यस्तै आजको बैठकले गभर्नर नियुक्तिका लागि सिफारिस समितिलाई पूर्णता दिने सम्भावना छ । सिफारिस समितिका सदस्य विजयनाथ भट्टराईले राजीनामा दिएका कारण उक्त स्थान रिक्त छ । रिक्त स्थानमा नयाँ सदस्य नियुक्त गर्नुपर्नेछ ।
सिफारिस समितिले पूर्णता पाएपछि मात्रै नयाँ गभर्नरको नाम सिफारिस हुनेछ । समितिले ३ जनाको नाम पठाएपछि मन्त्रिपरिषद्ले नियुक्तिको निर्णय गर्नेछ ।
गभर्नर नियुक्तिमा ढिलाइ भएपछि शनिबार प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच छलफल भएको थियो । उनीहरूबीच यही साता गभर्नर नियुक्त गर्ने सहमति बनेको बताइन्छ ।
नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकबाट राजीनामा दिएका डा गुणाकर भट्टलाई गभर्नर बनाउन कांग्रेस र एमालेको नेतृत्व सहमत भएका छन् ।











