
काठमाडौं । जम्मू कश्मीरको पहलगाममा भएको आतंकवादी हमलापछि भारत र पाकिस्तानबीचको तनाव उत्कर्षमा पुगेको छ । पहलगाम हमलाको १५ दिनपछि भारतले गएराति पाकिस्तानमा एयर स्ट्राइक गरेसँगै यी दुई आणविक शक्ति सम्पन्न मुलुक युद्धको नजिक उभिएका छन् ।
यसअघि भारतले दुई देशबीचको सिन्धु जलसन्धि निलम्बन गर्ने, सीमा क्रसिङ बन्द गर्ने र पाकिस्तानी नागरिकहरूको भिसा रद्द गर्नेलगायतका धेरै निर्णयहरू गरिसकेको छ । जवाफमा पाकिस्तानले सन् १९६० को सिमला सम्झौताबाट बाहिरिने घोषणा गरेको छ र नदीहरूको पानी रोक्ने वा मोड्ने कुनै पनि प्रयासलाई ‘युद्धको कारबाही’ मानिने र त्यसको पूर्ण शक्तिका साथ जवाफ दिइने बताएको छ ।
दुवै देशका राजनीतिक नेतृत्वबाट एक–अर्कालाई कडा चेतावनी र कठोर जवाफी कारबाही गर्ने अभिव्यक्तिहरु आइरहेका छन् । ग्लोबल फायर पावरका अनुसार, २०२५ को सैन्य शक्ति ¥याङ्किङमा भारत र पाकिस्तानबीच आठ स्थानको अन्तर छ । विश्वव्यापी सैन्य शक्तिको हिसाबले १४५ देशहरूमा भारतको ¥याङ्किङ चौथो छ भने पाकिस्तानको ¥याङ्किङ १२औँ स्थानमा रहेको ग्लोबल फायर पावरलाई उदृत गर्दै बीबीसीले उल्लेख गरेको छ ।
भारतीय सेनासँग करिब २२ लाख सैनिक, ४ हजार २०१ ट्यांक, करिब डेढ लाख बख्तरबन्द वाहन, १०० सेल्फ–प्रोपेल्ड आर्टिलरी र ३,९७५ तान्ने आर्टिलरी छन् । यसबाहेक मल्टि–ब्यारेल रकेट आर्टिलरीको संख्या २६४ छ । भारतीय वायुसेनासँग ३ लाख १० हजार वायुसैनिक र जम्मा २,२२९ विमान छन्, जसमा ५१३ लडाकु विमान र २७० यातायात विमान छन् । कुल विमानहरूमा १३० आक्रमणकारी, ३५१ प्रशिक्षक र ६ ट्यांकर फ्लिट विमान छन् ।
भारतीय सेनाका तीनवटै अङ्गसँग जम्मा ८९९ हेलिकप्टर छन्, जसमा ८० आक्रमण हेलिकप्टर छन् । भारतीय नौसेनासँग १.४२ लाख नौसैनिक, जम्मा २९३ जहाज छन्, जसमा २ विमानवाहक जहाज, १३ डिस्ट्रोयर, १४ फ्रिगेट, १८ पनडुब्बी, र १८ कोर्वेट युद्धपोत छन् ।
लजिस्टिक्सको रूपमा भारतीय सेनासँग ३११ विमानस्थल, ५६ बन्दरगाह, ६३ लाख किलोमिटर सडक, र ६५ हजार किलोमिटर रेलवे कभरेज छ । त्यस्तै पाकिस्तानी सेनासँग करिब १३.११ लाख सैनिक, १.२४ लाख नौसैनिक र ७८ हजार वायुसैनिक छन् ।
पाकिस्तानसँग जम्मा १,३९९ विमान छन्, जसमा ३२८ लडाकु विमान, ९० आक्रमणकारी, ६४ यातायात विमान, ५६५ प्रशिक्षक, ४ ट्यांकर फ्लिट, र ३७३ हेलिकप्टर छन्, जसमा ५७ आक्रमण हेलिकप्टर छन् । यसमा २,६२७ ट्यांक, १७५ वाहन, ६६२ सेल्फ–प्रोपेल्ड आर्टिलरी, २,६२९ तान्ने आर्टिलरी, र ६०० मल्टि–ब्यारेल रकेट आर्टिलरी छन् ।
पाकिस्तानी नौसेनासँग जम्मा १२१ युद्धपोत छन्, जसमा ९ फ्रिगेट, ९ कोर्वेट, ८ पनडुब्बी, र ६९ गस्ती जहाज छन् । लजिस्टिक्सको रूपमा यससँग केवल ३ बन्दरगाह, ११६ विमानस्थल, ६० मर्चेन्ट मरिन फ्लिट छन् । यसबाहेक, २.६४ लाख किलोमिटर सडक र ११.९ किलोमिटर रेलवे कभरेज छ । स्वीडेनको थिङ्क ट्यांक स्टकहोम इन्टरनेसनल पिस रिसर्च इन्स्टिच्युट को २०२४ को प्रतिवेदन अनुसार, भारतसँग १७२ र पाकिस्तानसँग १७० आणविक हतियार छन् ।
द्यपि, दुवै देशसँग कति आणविक हतियार तैनाथ छन् भन्ने स्पष्ट छैन । ग्लोबल फायर पावरका अनुसार, पाकिस्तान भारतको सामना गर्न आणविक हतियार तयार गरिरहेको छ भने भारतको ध्यान लामो दूरीमा प्रहार गर्न सक्ने हतियारहरूको तैनातीमा केन्द्रित छ ।
रक्षा मामिलाका विश्लेषक राहुल बेदीका अनुसार, भारतसँग आगामी दुईदेखि चार वर्षमा करिब ५,००० ड्रोनहरू हुनेछन् । उनका अनुसार, यद्यपि पाकिस्तानसँग ‘भारतभन्दा कम ड्रोनहरू’ छन्, तर पनि पाकिस्तानसँग रहेका ड्रोनहरूमा विभिन्न क्षमताहरू छन् र ती १० देखि ११ फरक डिजाइनका छन् ।
गत वर्ष अक्टुबरमा भारतले अमेरिकाबाट ३.५ अर्ब डलर मूल्यका ३१ प्रिडेटर ड्रोनहरू खरिद गर्ने सम्झौता गरेको थियो । प्रिडेटर ड्रोनहरू विश्वका सबैभन्दा सफल र खतरनाक ड्रोनहरू मानिन्छन् । तीसँगै ५० करोड डलर मूल्यका ती ड्रोनहरूमार्फत लक्ष्यलाई नष्ट गर्न प्रयोग हुने बम र लेजर गाइडेड मिसाइलहरू पनि खरिद गरिनेछ ।
राहुल बेदीका अनुसार, पाकिस्तानले टर्की र चीनबाट ड्रोनहरू आयात गर्छ । यद्यपि, उसले जर्मनी र इटालीबाट पनि ड्रोनहरू खरिद गरेको छ । पाकिस्तानले बुर्राक र शहपर जस्ता ड्रोनहरू आफैँले पनि बनाएको छ । पाकिस्तानसँग टर्कीका आधुनिक ‘बाय्राक्तर’ ड्रोनहरू टीबी टु र एकेँजी छन् भने उसले चीनबाट ‘वाङ लङ टु’ र ‘सीएच ४’ जस्ता ड्रोनहरू पनि प्राप्त गरेको छ ।











