Logo
Logo

खोटाङमा धमाधम बन्दै किरात संग्रहालय


- दृष्टि न्युज/संवाददाता


खोटाङ, ११ साउन । खोटाङको ऐसेलुखर्क गाउँपालिका–५ महेश्वरीस्थित रिब्दुङमा किरात संग्रहालयको निर्माण धमाधम भइरहेको छ । संग्रहालयको पहिलो तला ढलान गर्ने काम सकिएको छ ।
किरात जातिको लोपोन्मुख अवस्थामा पुगेका ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सामग्री, भेषवूषा, गरगहनालगायतका बहुमूल्य सम्पदालाई संकलन गर्दै संरक्षण गर्ने लक्ष्यकासाथ निर्माण शुरु गरिएको संग्रहालयको काम तीव्रगतिमा अघि बढाइएको हो ।
आर्थिक वर्ष २०७६÷७७ मा ऐसेलुखर्क गाउँपालिकाले विनियोजन गरेको रु १५ लाख र सांसद विशाल भट्टराईमार्फत विनियोजन भएको स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको रु १० लाखमा पहिलो तला ढलान गरिएको निर्माण उपभोक्ता समितिका संयोजक खुक्सङ खम्बुले बताए । उनले तत्कालीन गाविस, वडा तथा गाउँपालिकाको कार्यालयलगायत चन्दादाताबाट संकलन गरिएको रकममध्ये रु ५० लाखको हाराहारीमा खर्च भइसकेको बताए । उनले भने, ‘संग्रहालयको भवन निर्माणदेखि सामग्री राख्ने दराज र आल्मारी निर्माण, संग्रहालयमा राख्ने सामानको खरिद तथा नयाँ सामान निर्माणलगायतका कामका लागि देश तथा विदेशबाट सहयोग रकम जुट्नेक्रम जारी रहेको छ ।’

ऐतिहासिक संग्राहलय निर्माणका लागि विभिन्न ठाउँमा रहनुभएका व्यक्तिबाट समेत रु १७ लाख सहयोग प्राप्त भएको जनाइएको छ । किरात समुदायको ऐतिहासिक थलो मानिने महेश्वरीका स्थानीय बासिन्दाले अनुदान तथा चन्दा उठाएरै विसं २०७४ देखि धिनडाँडास्थित ज्योति प्रावि नजिक चुच्चोडाँडामा तीनतले पक्की संग्रहालय निर्माण शुरु गरेका थिए ।
किरात अध्ययन केन्द्रका रूपमा स्थापित गर्दै पर्यटन प्रवद्र्धनमा समेत टेवा पु¥याउने गरी १० किरातको प्रतीकस्वरुप ‘दश भुजा र दश कोण’ भएको संग्रहालय निर्माण गर्न लागिएको निर्माण समितिका संयोजक खम्बुले बताए । हजारौँ वर्ष पुरानो इतिहास र सभ्यता भएको किरातीसँग सम्बन्धित संग्रहालय कम भएका कारण किरात राई यायोक्खा रिब्दुङ महेश्वरीको पहलमा किरात संग्रहालय निर्माण शुरु गरिएको हो ।
भवनको भुइँ तलामा सामूहिक चुलो घर तथा माथिल्लो तलालाई संग्रहालय बनाउने निर्माण समितिको तयारी छ । संग्रहालयमा राई, लिम्बू, सुनुवार, याख्खालगायतका जातिसँग सम्बन्धित तान, ढिकी, जाँतो, धनुष बाण, गुलेली, ढ्याग्रो, भाला, हँसिया, चर्खा, डालो, थुन्से, कठुवा, हलो, जुवा, ढाकी, घडी लठ्ठी, ढाकर, घैँला, छपनी, ओख्ली, धिब्री, लोटा, फोसी, रासी, साँचो, भोटे ताल्चा, काठको आरी, भुने, काठको डाडुलगातका मौलिक गरगहना, कला, सीप, साहित्य झल्काउने बहुमूल्य सामग्रीलाई संकलन गरेर सजाएर राख्ने तयारी गरिएको छ ।
वास्तुकलाले सजाइने संग्रहालयको गजुर चिण्डोको बनाइने संयोजक खम्बुले बताए । संग्रहालय निर्माणका लागि स्थानीय शम्सेरजङ्ग राई, मानबहादुर राई र पूर्णबहादुर राईले आठ रोपनी जग्गा निःशुल्क प्रदान गरेका छन् । निर्माणाधीन संग्रहालयका लागि करिब ५० रोपनी जग्गा जुटाउने तयारी गरिएको समितिले जनाएको छ ।
दश स्थानीय तह रहेको जिल्लाका अन्य विभिन्न ठाउँमासमेत संग्रहालय निर्माणको काम शुरु गरिएको छ । आदिवासी जनजाति समुदायको बाहुल्यता रहेको जिल्लामा किरात, मगर, तामाङ, शेर्पालगायत विभिन्न जातजातिको जातीय संग्रहालय निर्माण गरेर पर्यटन प्रवद्र्धन गर्ने उद्देश्य राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्