काठमाडौं । भारतले हालै सुरु गरेको ‘अपरेशन सिन्दूर’ अन्तर्गत पाकिस्तान र पाकिस्तान अधिनस्थ कश्मीर (पीओके) मा लक्षित सैन्य कारबाहीको क्रममा लश्कर–ए–तैयबा (एलईटी) र जैश–ए–मोहम्मद (जेईएम) का शीर्ष आतङ्ककारी मारिएको भारतीय रक्षा मन्त्रालयले जनाएको छ ।

बुधवारदेखि प्रारम्भ गरिएको अपरेशन सिन्दूर पहलगाम आक्रमणको प्रतिउत्तर स्वरूप हो । भारतीय रक्षा मन्त्रालयका अनुसार कारबाहीमा मारिएका पाँच जना ठूला आतंककारीको पहिचान भइसकेको छ । उनीहरूको नामावली समेत सार्वजनिक गरिएको छ ।
मारिएका प्रमुख आतंककारीहरू :
१.मुदस्सिर खादियान (लश्कर–ए–तैयबा)
मरकज तैबा, मुरिडकेका प्रमुख मुदस्सिर खादियानलाई मारिएपछि उनको अन्त्येष्टिमा पाकिस्तानी सेनाले ‘गार्ड अफ अनर’ दिएको थियो । कार्यक्रममा पाकिस्तान सेना प्रमुख र पञ्जाबकी मुख्यमन्त्री मरियम नवाजले पुष्पगुच्छा अर्पण गरेका थिए । हाफिज अब्दुल रौफको नेतृत्वमा सरकारी विद्यालयमा जनाजाको आयोजना गरिएको थियो ।
२.हाफिज मुहम्मद जमील (जैश–ए–मोहम्मद)
जैशका कट्टर आतङ्ककारी जमील मौलाना मसूद अजहरका साला थिए । उनी मरकज सुभान अल्लाह, बहावलपुरका प्रमुख थिए र मुस्लिम युवालाई कट्टरपन्थी बनाउन तथा आर्थिक सहयोग जुटाउन सक्रिय थिए
३. मोहम्मद युसुफ अजहर (जैश–ए–मोहम्मद)
जेईएमका वरिष्ठ आतङ्कवादी युसुफ अजहर मसूद अजहरका अर्का साला हुन् । उनी सङ्गठनका मुख्य हतियार तालिम प्रशिक्षक थिए र जम्मु–कश्मीरका धेरै आतंकी गतिविधिमा संलग्न थिए । उनलाई चर्चित सी–८१४ विमान अपहरण घटनामा पनि खोजी गरिएको थियो ।
४. खालिद उर्फ अबु आकाशा (लश्कर–ए–तैयबा)
आकाशा जम्मु–कश्मीरका विभिन्न आतंकी आक्रमणमा संलग्न थिए। अफगानिस्तानमार्फत हतियार तस्करीमा उनको संलग्नता थियो । उनको अन्त्येष्टि फैसलाबादमा पाकिस्तानी सेना अधिकारी र प्रशासनिक प्रमुखहरूको उपस्थितिमा गरिएको थियो ।
५. मोहम्मद हसन खान (जैश–ए–मोहम्मद)
पीओकेका जैश कमाण्डर मुफ्ती असगर खान कश्मीरीका छोरा मोहम्मद हसन जम्मु–कश्मीरमा आतंकी कारबाहीको समन्वयमा प्रमुख भूमिकामा थिए ।
भारतको यस सैन्य कारबाहीलाई आतंकी संरचनामाथिको ठूलो प्रहारको रूपमा हेरिएको छ। भारतीय सुरक्षा अधिकारीहरूले यसलाई आतंकविरोधी अभियानमा ‘महत्वपूर्ण सफलता’ भनेका छन् ।










