नेपाली राजनीतिका दुई ठूला वाम दलका शीर्ष नेतृत्वको अभिव्यक्ति र क्रियाकलापले आम मानिसलाई अचम्मित तुल्याउने गर्छ । एकै कालखण्डमा एकअर्का लक्षित विरोधाभासपूर्ण अभिव्यक्तिले कुन सत्य हो छुट्याउनै मुस्किल पर्छ । सहकार्य गर्दा अतिशयोक्तिपूर्ण घनिष्ठता र अलग हुँदा शत्रुतापूर्ण तिक्तता माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बन्धमा देख्न सकिन्छ ।

एकै कालमा एक अर्काप्रतिको धारणा अस्वाभाविक ढंगले परिवर्तन हुँदा आम मानिसलाई उनीहरूको चरित्र बुझ्न निकै कठिन भइसकेको छ । सोही कारण उनीहरूको अभिव्यक्तिको विश्वसनीयता नेपाली समाजमा निकै ह्रास हुँदै गएर एक हाँस्यपात्रका रूपमा सीमित हुन पुगेको छ । उनीहरूकै कारण जनताहरूले नेता भन्ने बित्तिकै झुट र अविश्वसनीय पात्रको संज्ञा दिँदै आरोप प्रत्यारोपका वाहकको रूपमा चित्रित गर्न थालेका छन् । यसै कारण यी नेताद्वयका अभिव्यक्ति जनस्तरबाटै अस्वीकृत हुन थालेको छ ।
एकअर्का विरुद्ध लज्जाजनक आरोप प्रत्यारोपमा उत्रिने यी नेताद्वय देश बनाउने एजेन्डामा प्रतिस्पर्धा गरेको भए सबैको प्रशंसायोग्य हुने थिए । तर, एकले अर्कोलाई आरोप लगाएर सही बन्ने कुचेष्टा गर्दा सर्वत्र नागिंएका मात्रे छैनन्, आक्रोशको निशानामा परेका छन् । यिनीहरू सहकार्य हुँदा एकले अर्कालाई निकै प्रशंसा गर्ने तर अलग हुँदा लाज पनि लजाउने गरी आरोप प्रत्यारोपमा उत्रने गर्छन् ।
उसो त, नेपाली कम्युनिष्ट आन्दोलनमा सँगै हुँदा देवत्करण गर्ने र अलग हुँदा दानवीकरण गर्ने पुरानै प्रचलन हो । विगतदेखिकै हरेक कम्युनिष्ट पार्टीको विभाजन याममा यो रोग देखिँदै आएको छ ।
तर, परम्परागत कम्युनिष्ट सिद्धान्तबाट परिवर्तित भएर समय सापेक्ष रुपान्तरण भएको दावा गर्ने माओवादी र एमाले नेतृत्वको प्रवृत्ति भने अझै सोही भूमिगतकालीन कठोर कम्युनिष्टको जस्तै छ ।
कुनै समय एक अर्कालाई असली गणतन्त्रवादी घोषणा गर्दै पार्टी एकता गरेका यी नेताद्वयले आजभोलि आफूलाई मात्रै सच्चा गणतन्त्रवादी भएको स्वघोषणा गर्दै आरोप प्रत्यारोपमा उत्रिएका छन् । एमाले र माओवादी दुवैको राजनीतिक आन्दोलनलाई स्वीकार गरेर पार्टी एकता गरेका ओली–प्रचण्ड विभाजन लगत्तै भने तिनै आन्दोलन केन्द्रित हिंसाको आक्षेप लगाउन उद्यत देखिए ।
२०७४ को निर्वाचन पछि जनयुद्ध र झापा आन्दोलन दुवैको स्वामित्व लिएर पार्टी एकता गरेका ओली–प्रचण्डले आफूलाई एकै विमानका दुई पाइलटको संज्ञा दिएका थिए ।
तर, समयक्रममा यी पाइलटहरूले त्यो विमान सुरक्षित अवतरण गराउनु त कता हो कता झनै दुर्घटनाग्रस्त गराएर क्षतविक्षत बनाए । उक्त विभाजनरुपी दुर्घटनापछि उक्त विमान अहिलेसम्म पुनर्निर्माण हुन सकेको छैन ।
त्यस समयमा दुवै नेताको अभिव्यक्ति निकै प्रशंसाजन्य हुने गर्दथे । एकले अर्काको सबल पक्षको प्रशंसामै समय खर्च गर्ने उनीहरू ओलीको संसद विघटन पछि भने कटुतापूर्ण तिक्ततामा परिणत हुँदै पार्टी विभाजन भएको थियो । त्यसकै उपज एमाले समेत फुट्यो । र, हालसम्मै नेपालको वाम जनमत संगठित हुन सकेको छैन । यो सबै ओली र प्रचण्डको अतिशयोक्तिपूर्ण मित्रता र शत्रुवत कटुताकै परिणति थियो ।
अहिले फेरि यिनै नेताहरूको निम्न स्तरका आरोप प्रत्यारोपले सामाजिक सञ्जाल रंगिएको छ । यिनका अशोभनीय र लज्जास्पद टिकाटिप्पणीले आम मानिस सामाजिक सञ्जाल हेर्न नसक्ने अवस्थामा पुगेका छन् ।
सँगै हुँदा चोचोमोचो मिलाउने तर टाढिए धारेहात लगाउने नेपाली समाजको सामान्य चरित्र पनि हो । सायद, यसको अलिअलि प्रभाव ओली प्रचण्डमा परेको भए स्वाभाविकै रूपमै लिन सकिन्थ्यो होला । तर उनीहरू त्यसलाई माथ खुवाउँदै ‘…लाई भन्दा देख्नेलाई लाज’ को रूपमा प्रस्तुत हुने गरेका छन् ।
सत्ता गुमाएर रन्थनिएका प्रचण्डले गत पुसमा झापा पुगेर ओलीलाई जाली,झेली, कपटीको आरोप लगाएका थिए । ‘अहिलेका प्रधानमन्त्री देशको जाली, झेली, कपटी, बेइमानी । मेरो लागि त यति धेरै जाली, यति धेरै झेली मान्छे उनको ठाउँमा म बोल्दै छु, जालझेल बाहेक उहाँको दिमागमा अरू केही छैन ।’
पार्टीको खबरदारी सभामा ओलीकै गृहजिल्लामा पुगेका प्रचण्डले आरोप लगाएका थिए । देशको तीन पटक प्रधानमन्त्री भइसकेको व्यक्तिले निकै अशोभनीय र व्यक्तिगत तहमै ओर्लिएर लगाइएको यो आरोप विगतको सहकार्य गिज्याउने खालको थियो ।
अहिले यिनै प्रचण्डले राजनीतिक रूपमा पनि ओलीलाई गणतन्त्रवादी भएको पुष्टि गर्न बारम्बार चुनौती दिइरहेका छन् । गत चैतको समाजवादी मोर्चाको कार्यक्रममा पनि प्रचण्डले ओलीलाई गणतन्त्रवादी चरित्र देखाउन सार्वजनिक रूपमै चुनौती दिएका थिए ।
यस्तै, ओलीले पनि प्रचण्डलाई त्यहीँ दर्जाकै आरोप लगाउने गरेका छन् । उनले पनि प्रचण्डलाई लोकतन्त्र मासेर राजासँग मिल्नेहरू बाध्यतावश यस व्यवस्थामा आएको आरोप लगाए । साथै, उनले धेरै चुरीफुरी गरे अनेकौँ षड्यन्त्रको पर्दाफास गरिदिने चेतावनी पनि दिए । ‘ लोकतन्त्र र लोकतान्त्रिक आन्दोलनलाई मास्न राजा ज्ञानेन्द्रसँग मिल्नेहरू अहिले बाध्यताले लोकतन्त्रसँग सम्झौता गर्न आएका छन्, त्यस्ता मान्छेले हामीलाई लोकतन्त्रको दुहाई दिन सुहाउँदैन । धेरै बकवास गरेर हिँड्ने हो भने प्रचण्डका धेरै षड्यन्त्रको पर्दाफास गरिदिन नपरोस् ।’ ओलीले गत फागुनमा दाङ पुगेर चेतावनी दिएका थिए ।
यी नेताहरूको यस्ता अभिव्यक्तिले आम मानिस यतिसम्म आजित भएका छन् कि, उनीहरूको भाषण आयो भने टेलिभिजन बन्द गर्नुपर्ने अवस्थामा पुगेका छन् । सामाजिक सञ्जाल प्रयोगकर्ताले जतासुकै यिनीहरूलाई सरापेको मात्रै देख्न सकिन्छ । यो असन्तुष्टिको चरम अवस्था हो ।
मुलककै शीर्ष नेताहरु सम्मानयोग्य हुनुपर्नेमा चौतर्फी आलोचित भएर घृणाका पर्याय बन्न थालेका छन् । यो मूलक र दलीय व्यवस्थाका लागि राम्रो संकेत होइन । यिनकै कारण जनताहरू वर्तमान व्यवस्था र दलहरूप्रति रुष्ट भएका हुन् ।
एकअर्कालाई निर्मम आरोप लगाएर आफ्नो मूलभूत दायित्वबाट विमुख हुने प्रवृत्ति नै मुलुक निर्माणका लागि बाधक भएको गणतन्त्रको २० वर्षे अवधिले पुष्टि गरेको छ । अहिले पनि यही प्रवृत्तिलाई नै शीर्ष नेताहरूले बढोत्तरी दिइरहेका छन् । उनीहरू नै अग्रपङ्क्तिमा रहेर गालीगलौजको संस्कृतिलाई बढवा दिए आम नेता कार्यकर्ता र जनताले के सिक्ने ? यसले आगामी दिनमा नेपाली समाजलाई कता लैजाला ? मुलुकलाई दिशा बोध गर्ने दायित्वबाट पन्छिएर बेतुकका आरोप प्रत्यारोपमा उत्रिएर आफ्नै कद घटाएर यिनीहरूले के सन्देश दिन खोजेका हुन् ? आम जनमानसबाट यस्तै प्रश्न उठ्ने गरेको छ ।
अझैं पनि क्षणिक आत्मरति लिन यस्तै कृत्य कायम रहने हो भने कालान्तरमा जनस्तरबाटै बहिष्कृत भएर यी नेताद्वयको ‘घर न घाट’को अवस्था आउने घटनाक्रमले संकेत गरेको छ ।











