काठमाडौं । म्युजिक खबर म्युजिकअवार्डको १२औँ संस्करणमा दिइने सम्मान तथा पुरस्कारको घोषणा गरिएको छ ।
म्यूजिक खबरका सल्लाहकार, आयोजक, संगीतकर्मीबीच छलफल गरी आगामी जेठ २३ गते हुने अवार्डको फाइनल कार्यक्रममा दिइने सम्मान तथा पुरस्कारका लागि छनोट भएका नामहरु सार्वजनिक गरिएको हो ।

तिलगंगास्थित बेस्ट वेस्र्टन प्लस होटलमा आयोजना हुने म्युजिक अवार्ड कार्यक्रममा बिशिष्ट गीतकार यादव खरेललाई म्युजिक खबर दीर्घ साधना सम्मान–२०८१ अर्पण गरिने निर्णय भएको कार्यक्रम संयोजक सबिता पोखरेलले जानकारी दिइन् ।
खरेका गैरी खेतको शीरै हान्यो, चैतमास खडेरीमा, यस्तो पनि हुँदो रैछ जस्ता सयौं गीत चर्चित र कालजयी छन् । गीतकार खरेललाई ५१ हजार नगद राशीसहित दीर्घ साधना सम्मान अर्पण गरिने संयोजक पोखरेलले बताइन् ।
त्यस्तै, यस वर्षको म्यूजिक खबर रजत संगीत सम्मान–२०८१ गायक तिलकसिंह पेलालाई प्रदान गरिने भएको छ । रेडियो नेपाल हुँदै हालसम्म पनि उनको संगीत तथा स्वरमा दर्जनौं गीतहरु रेकर्ड भएका छन् । लुकाउन खोज्दा पनि, के लत बस्यो मलाई, हेर दिन ढल्यो, कथा एउटै, पलपल, निर्जन किनार, तिम्रो याद, कहानी बनेन केही लगायतका गीत तथा गजलहरुमा उनको स्वर सुन्न सकिन्छ ।
त्यस्तै, यस वर्षको म्युजिक खबर दशक संगीत सम्मान–२०८१ बाट गायक खुमन अधिकारी र गायिका जुनु रिजाल काफ्लेलाई अर्पण गरिने भएको आयोजकले जनाएको छ । गायक अधिकारीले १० हजार बढी गीतमा स्वर दिएका छन् । उनले स्वर भरेका ‘मनको देउतैले’, ‘जोर शंख फुकेर’, ‘बिन्ती मेरो कोटी कोटीमा’, ‘रुमाल चिनो लैजाउ बैनालाई’, ‘एउटै डोरी पासो लगाम भो’, ‘सिलाइ दिउँला भोटो’, ‘स्याङ्जालीलाई नभन जाली’, लगायतका थुप्रै गीतहरु लोकप्रिय छन् ।
त्यस्तै, गायिका जुनु रिजालका फूल मन्जरी, न दोष तिम्रो न दोष मेरो, ड्राइभर दाइ, के नै भन्नु छ र अब, डाँफेझैं नाच्ने, के होला उनको नाउँ, लुकी लुकी, बनचौंरी लगायतका गीतहरु लोकप्रिय छन् । गायक खुमन अधिकारी र गायिका जुनु रिजाललाई ‘म्यूजिक खबरदशक संगीत सम्मान’ अर्पण गर्ने निर्णय भएको छ ।
यस्तै, यो वर्षको म्युजिक खबर युवा संगीत सम्मान गायिका मिना लामालाई अर्पण गर्ने निर्णय गरेको छ । गायिका लामाले लोक गायन तथा आधुनिक संगीतमा सयौं गीतमा स्वर तथा संगीत गरिसकेकी छन् ।
त्यस्तै, यस वर्षको म्यूजिक खबर संगीत पत्रकारिता पुरस्कार पत्रकार एमपी सुब्बा र दिपाञ्जली शाहलाई अर्पण गरिन लागिएको छ । दुई दशकभन्दा बढी समयदेखि पत्रकारितामा संलग्न रहेका पत्रकार सुब्बा दृष्टिन्युज तथा साप्ताहिकमा कार्यकारी सम्पादकको जिम्मेवारी सम्हाल्दै आएका छन् । यस्तै पत्रकार शाह हाल कान्तिपुर ग्रुपसँग आवद्ध छन् , उनी दुबै जनालाई नगद राशि ५हजार ५ सय ५५ नगद राशिसहित सम्मान अर्पण गरिने भएको छ ।
त्यस्तै, यस वर्षको बालप्रतिभा प्रोत्साहन सम्मान बालगायिका पुजा देवकोटालाई अर्पण गरिन लागिएको छ । गायिका देवकोटाले सानै उमेरमा गायनमा रुची राखी संगीत क्षेत्रमा चालेको यात्रालाई प्रोत्साहन गर्ने उद्देश्यले सम्मान गर्न लागिएको हो ।
म्यूजिक खबर डायस्पोरा संगीत सम्मान गीतकार डा.रमिल अधिकारीलाई अर्पण गरिने भएको छ । लामोसमयदेखि गीतिलेखनमा सक्रिय रहेका गीतकार अधिकारी न्यूजिल्याण्डमा कार्यरत छन् ।
यसैगरि म्यूजिक खबर फोटो पत्रकारिता पुरस्कार–२०८१ फोटोपत्रकार प्रदिपराज वन्तलाई अर्पण गरिने भएको छ । राष्ट्रिय« समाचार समितिमा आवद्ध उनले खिचेका फोटोहरु नेपालका राष्ट्रि«य छापा तथा अनलाईन मिडियामा प्रकाशित हुँदै आएको छ ।
फोटो पत्रकारहरुको संस्था एनएपीजेका अध्यक्षसमेत रहको वन्तलाई म्यूजिक खबर फोटो पत्रकारिता पुरस्कार– २०८१ अर्पण गरिने आयोजकले जनाएको छ ।
त्यसैगरी संगीत क्षेत्रमा व्यवसायिक रुपमा क्रियाशील विमल शाहलाई म्यूजिक खबर संगीत व्यवसायी सम्मान अर्पण गरिने भएको छ । पशुपति हारमोनियम बिक्री तथा मर्मत केन्द्र संचालन गर्दै आएका विमलले नेपालमै हारमोनियमको उत्पादन तथा मर्मत गर्दै आएका छन् । विमल शाहलाई म्युजिक खबर संगीत व्यवसायी सम्मान अर्पण गर्न लागिएको हो ।
विगत १२ वर्षदेखि आयोजना हुँदै आएको म्यूजिक खबर म्यूजिक अवार्ड कार्यक्रमका निर्देशक बरिष्ठ पत्रकार एवं गीतकार शान्तिप्रिय हुन् । सुमन पण्डित अध्यक्ष रहेको अवार्ड कार्यक्रमकी संयोजक सविता पोखरेल रहेकी छन् ।
भेलामा वरिष्ठ कलाकार, निर्देशक, हाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला, बरिष्ठ गायक, संगीतकार नारायण रायमाझी, वरिष्ठ कलाकार एवं निर्देशक हाल चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, वरिष्ठ साहित्यकार राधेश्याम लेकाली, वरिष्ठ गायिका देविका बन्दना, सांस्कृतिक प्रवद्र्धक तथा वरिष्ठ संगीतकर्मी आरसी कोइराला, वरिष्ठ संगीतकर्मी उज्ज्वलजंग ठकुरी, वरिष्ठ गायक चन्द्र शर्मा, बरिष्ठ अधिबक्ता एवं गीतकार राम भट्टराई, संगीतकार सन्तोष श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।











