
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलविरुद्धको रिटमा आज (बुधबार) सुनुवाइ हुँदैछ । जेठ ६ गते गभर्नर नियुक्ति भएका पौडेलविरुद्ध सर्वोच्चमा दायर भएको रिट मंगलबार मात्रै दर्ता भएपछि आज सुनुवाइ हुन लागेको हो ।
गभर्नर नियुक्ति बदरको माग गर्दै अधिवक्ता विराज थापा, अनन्त लुइँटेल लगायतले रिट दायर गरेका थिए । उक्त रिट निवेदन पाँच दिनको अध्ययन र छलफलपछि मंगलबार मात्रै दर्ता भएको थियो ।
उनीहरुले रिटमा गभर्नर सिफारिस समितिको सदस्य रहेका पौडेललाई ‘म्याच फिक्सिङ’ शैलीमा नियुक्ति दिएर सुशासनको धज्जी उडाएको, राष्ट्र बैंक ऐनले तोकेको शैक्षिक विषयको अध्ययन नभएकोसहितका विषय उठाउँदै नियुक्ति बदर गर्न माग गरेका छन् ।
राष्ट्र बैंकजस्तो संवेदनशील निकायमा प्रक्रिया विपरीत नियुक्ति भएका र शैक्षिक योग्यता समेत नमिलेका पौडेलको निरन्तरता हुन नहुने भन्दै रिटकर्ताले अन्तरिम आदेश माग गरेका छन् ।














