
काठमाडौं । नेकपा एमाले नेता लालबाबु पण्डितकी श्रीमती विमला महत पण्डितको निधन भएको छ । लामो समयदेखि बिरामी विमलाको बुधबार राति निधन भएको हो ।
पण्डितले सामाजिक सञ्जालमार्फत जीवन संगिनीले छाडेर गएकाले एक्लो भएको बताएका छन् । विमला डेढ वर्षदेखि माया साइटिस भन्ने रोगबाट ग्रसित थिइन् ।
यो रोगले मांसपेशीलाई कमजोर बनाउने, मासु फुटाइदिने, नसालाई कमजोर बनाउने, रोगले च्यापेको बेलामा भर्खर जन्मेको बच्चाजस्तै लल्याकलुलुक हुने समस्या गराएको थियो । श्रीमती बिरामी भएपछि लालबाबु सार्वजनिक कार्यक्रममा एकदमै कम उपस्थित हुने गरेका थिए ।














