Logo
Logo

गन्तव्य : मृदुङ्गा झरनामा फोटो खिच्नेको घुइँचो (फोटो फिचरसहित)


- दृष्टि न्युज/संवाददाता


पाँचथर, १८ साउन । नजिकै सडक पुगेपछि पाँचथरको हिलिहाङ गाउँपालिकामा रहेको मृदुंगा झरनामा आन्तरिक पर्यटकको घुइँचो लाग्न थालेको छ । पुष्पलाल (मध्यपहाडी) लोकमार्गको पहुँच र तमोर करिडोर सडक झरनानजिकै पुगेपछि यहाँ भीडभाड हुन थालेको हो । यो झरना हिलिहाङ गाउँपालिका वडा नं ३ र ४ को सिमानामा रहेको छ ।


ठूलाठूला चट्टानका बीचबाट झरेको झरना निकै आकर्षक र सुन्दर देखिनाले यहाँ पर्यटकको भीड लाग्न थालेको हो । मेची राजमार्गबाट हिलिहाङ–१ भालुचोक र फेदापाबाट करिब एक घण्टा यात्रा गरेपछि यो झरनासम्म पुग्न सकिन्छ । सबै प्रकारका सवारीका साधन यहाँसम्म पुग्नसक्ने भएकाले आन्तरिक पर्यटकको चाप दिनानुदिन बढिरहेको स्थानीय व्यवसायी सुरेश चापागाईले बताए ।
चापागाईका अनुसार सडक पुगेपछि झरनामा तस्बिर लिने र सामाजिक सञ्जालमा हाल्ने क्रमले यो झरना प्रचारमा आएको हो । उनले भने, ‘बाटोकै कारणले ओझेलमा रहेको झरना पर्यटकीय गन्तव्यका रुपमा विकास भएको छ । यहाँ पाँचथरलगायत विभिन्न छिमेकी जिल्लाबाट आएका मानिसको दैनिकरुपमा भीडभाड हुने गरेको छ ।’


सडकले विकास र समृद्धिका अन्य आयामसमेत खोल्दछ भन्ने बलियो उदाहरण बनेको छ यो झरना । यहाँ अहिले दैनिक २५० जनाभन्दा बढी पर्यटक आउने गरेको व्यवसायी चापागाईको भनाइ छ । झरनाको २०० मिटर नजिकबाट तमोर करिडोर सडक विस्तार भएको छ ।
हिलिहाङ गाउँपालिका–४ का वडाध्यक्ष श्रीप्रसाद सिगूका अनुसार झरनालाई व्यवस्थित पर्यटकीय गन्तव्य बनाउन चालू आव २०७७÷७८ मा विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पार्न लागिएको छ । प्रतिवेदनका आधारमा यस झरनालाई प्राकृतिकरुपमै सुन्दर बनाउने प्रयास गरिने उनको भनाइ छ ।


झरनाभन्दा माथि रहेको मन्दिरको जीर्णोद्वार गरिनुपर्ने, आवश्यक अन्य पूर्वाधार निर्माण गरी सरकारी आम्दानीको स्रोत बनाइनुपर्ने स्थानीयवासी खगेन्द्र योङहाङको माग छ । हिलिहाङ गाउँपालिकाले आफ्नो नीति तथा कार्यक्रममा उक्त झरनालाई पर्यटकीय केन्द्र तथा मनोरञ्जन स्थलमा परिणत गर्न गुरुयोजना निर्माण गर्ने उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्