Logo
Logo

बाँझो जमिनको उपयोग र कृषिमा युवा उद्यमशीलता प्रवर्द्धनमा छलफल  


315
Shares

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कृषि उत्पादन, उद्यमशीलता, र बाँझो जमिनको उत्पादनशील उपयोगलाई प्रोत्साहन गर्न कनेक्ट किसान, मौलिक बजारलगायत विभिन्न संस्थासँग छलफल गरेको छ । राष्ट्रिय रोजगार प्रवर्द्धन, कृषिमा युवा सहभागिता, र कृषि-आधारित उद्यमशीलता वृद्धिका लागि रणनीति बनाउन यो छलफल आयोजना गरिएको हो ।

श्रममन्त्री सरद सिंह भण्डारीको अध्यक्षतामा मङ्गलवार सम्पन्न बैठकमा मन्त्रालयका सचिवालय टोली, वैदेशिक रोजगार विभागका महानिर्देशक कमल प्रसाद भट्टराई, राष्ट्रिय सीप विकास प्रतिष्ठान भैंसेपाटीका पदाधिकारी, र अन्य सरोकारवालाहरू सहभागी रहेको थियो । 

छलफलमा ‘डिग फर नेपाल’, ‘कनेक्ट किसान’, ‘मौलिक बजारु, र ‘मौलिक भान्साघरु जस्ता अभियानमार्फत बाँझो जमिनलाई उत्पादनशील बनाउने, युवालाई कृषिमा आकर्षित गर्ने, र सीप विकासमा जोड दिने विषयमा गहन छलफल भएको हो  । 

डिग फर नेपालका महासचिव सुमन दाहालले “एक पालिका, एक उत्पादन ब्रान्डिङ” अवधारणा प्रस्तुत गर्दै प्रत्येक पालिकामा स्थानीय खरिद–बिक्री केन्द्र (मौलिक बजार) र रैथाने परिकारमा आधारित ‘मौलिक भान्साघर’ स्थापना गर्ने योजना अघि सारे । यस्ता प्रयासले रोजगारी सृजना, स्थानीय उत्पादनको प्रवर्द्धन, र आर्थिक सशक्तीकरणमा योगदान पुग्ने उनको भनाइ छ । साथै, उनले विद्यालय तहबाटै कृषि र उद्यमशीलताको शिक्षा सुरु गर्नुपर्नेमा जोड दिए ।

कनेक्ट किसानका निर्देशक राजन दाहालले कक्षा कोठाबाटै उद्यमशीलता सिकाउने, वैज्ञानिक कृषि पद्धतिको प्रयोग बढाउने, र व्यावसायिक कृषि तथा उद्यमशीलता तालिम विस्तार गर्ने योजनाहरू प्रस्तुत गरे । उनले युवालाई सीपयुक्त उद्यमी बनाउन विशेष जोड दिए ।

बैठकले केन्द्र, प्रदेश, र स्थानीय सरकारबीच नीति, कार्यक्रम, र आर्थिक स्रोतको समन्वय गरी ‘डिग फर नेपाल’, ‘मौलिक बजारु, र ‘कनेक्ट किसानु सँगको सहकार्यमा कृषि, रोजगारी, र सीप विकासमा उल्लेखनीय प्रगति हासिल गर्न सकिने निष्कर्ष निकालेको छ । 

सरकारले बाँझो जमिनको उपयोग, युवा सशक्तीकरण, र कृषिको आधुनिकीकरणलाई एकसाथ अघि बढाउने नीति लिएको छ । यो छलफलले राष्ट्रिय रोजगार प्रवर्द्धन कार्यक्रमलाई सार्थक बनाउन महत्त्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ । यो साझेदारीले नेपालको कृषि क्षेत्रमा नवीन अवसरहरू सिर्जना गर्दै आर्थिक समृद्धिको बाटोमा महत्त्वपूर्ण कदम चाल्ने विश्वास गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्