Logo
Logo
टिप्पणी

राजवादीसँग आक्रोशित राधिका


945
Shares

काठमाडौं । गणतन्त्र दिवसकै दिन पारेर राजावादीहरूले जेठ १५ गतेदेखि अनिश्चितकालीन आन्दोलन सुरु गरेपछि यो आन्दोलन कहाँ गएर टुंगिन्छ भन्न सकिने अवस्था छैन ।

राजावादीहरूले राजतन्त्र फर्काउने नाममा शान्तिपूर्ण आन्दोलन गर्दै आएको भए पनि सरकारले दमन गर्ने नीति लिएको बुझिन्छ । गत चैत १५ गते पनि दुर्गा प्रसाईँको नेतृत्वमा तीनकुनेमा आयोजित शान्तिपूर्ण आन्दोलनमाथि सरकारले कडा दमन गर्दा ठूलो जनधनको क्षति भयो ।

राजावादीहरूको आन्दोलनको क्रममा अस्ति आइतबार पूर्वगृहमन्त्री कमल थापामाथि प्रहरीले लाठी, बुट बजारे । केही नेता, कार्यकर्ता पक्राउ परे । जेठ १५ को आन्दोलन दबाउन प्रधानमन्त्री केपी शर्मा ओलीले पञ्चायती शैलीमा युवा संघका कार्यकर्ताहरूलाई प्रतिकारमा उतारे । यसबाट हिंसा फैलिने ठूलो भय उत्पन्न भयो । यस घटनाबाट पनि सरकार राजावादीहरूको आन्दोलनबाट आतंकित भएको बुझ्न सकिन्छ ।

जेठ १५ गतेदेखि अनिश्चितकालीन आन्दोलन सुरु भएपछि काठमाडौंका केही ठाउँहरू अस्तव्यस्त बने । आन्दोलनमा राप्रपाका नेता तथा कार्यकर्तादेखि सरकारसँग असन्तुष्ट जमातको सहभागिता देखिन्छ । यसैक्रममा आन्दोलनकारीले बालुवाटार घेर्ने रणनीति पनि बनाए । त्यो कुरा थाहा पाएर प्रधानमन्त्री पत्नी राधिका शाक्यले आन्दोलनकारीलाई चुनौती दिँदै ‘बालुवाटार घेर्छु भन्नेहरूको अनुहार पनि हामीले देखेका छौँ, चिनेका छौँ, सारा जनताले देखेका छन्, चिनेका छन्’ भनेकी छिन् ।

गत आइतबार ‘मध्यपुरथिमीमा जेसुम’ नामक पुस्तकको लोकार्पण समारोहमा प्रधानमन्त्रीपत्नी शाक्यले केही समयअघि राजावादीहरूले ‘हेलिकप्टरमा भाग्न तयार रहनु’भन्ने टिप्पणीप्रति आक्रोश व्यक्त गर्दै भनिन्– प्रधानमन्त्री ओलीले सम्पूर्ण जीवन देशकै निम्ति समर्पण गरेका छन् । भागेर कहाँ जाने ? कुनै देशमा अरुले जस्तो सम्पत्ति थुपारेर राखेको छैनौँ । हामी भागेर जाँदा पनि जाँदैनौँ, एक थोपा रगत भएसम्म यही देशका लागि लड्छौँ ।’

उनको यही भनाइबाट पनि आन्दोलनको राँको जति सल्किए पनि प्रधानमन्त्री ओली र उनका पत्नी राधिका शाक्य देश छाडेर भाग्ने मनस्थितिमा छैनन्, बरु बालुवाटारमै जरा गाढेर बस्ने ‘मुड’मा छन् भन्ने बुझिन्छ । हुन त बालुवाटारको प्रधानमन्त्रीनिवासमा बंकर पनि बनाइएको छ ।

उता पूर्वराजा ज्ञानेन्द्र आन्दोलनकै बलमा सत्तामा फर्किने कुरामा ढुक्क देखिन्छन् । जेठ १५ गते आन्दोलन गर्नुअघि पनि पूर्वराजा ज्ञानेन्द्रले होटल सोल्टीमा राप्रपाका नेताहरूसँग ‘लञ्च मिटिङ’ गरेका थिए । १७ वर्ष अगाडि नागरिक जीवन बिताउने प्रतिवद्धतासहित नारायणहिटी छाडेर बाहिरिएका ज्ञानेन्द्र पुनः सत्तामा फर्किने चाहनाभित्र नेपाललाई अस्थिर बनाउने वैदेशिक खेल रहेको हुन सक्ने अनुमान गरिएको छ ।

ज्ञानेन्द्रको भुटान भ्रमण र पटक पटकको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँगको भेटपछि ज्ञानेन्द्र हिन्दु राष्ट्र कायम गर्ने रणनीतिका साथ मैदानमा उत्रिएको बुझ्न कठिन छैन ।

नेपालको राजनीतिक अस्थिरताका कारण दुई छिमेकी चीन र भारत पनि चिन्तित बनेको बुझिन्छ । नेपालमा विदेशी चलखेल बढेको र त्यसलाई रोक्न पनि स्थायी शक्तिका रुपमा कुनै न कुनै स्थानमा राजालाई ‘स्पेस’ दिनुपर्ने महसुस दुबै छिमेकीले गरेको अनुमान लगाउन सकिन्छ ।

हालै पूर्वराष्ट्रपति विद्या भण्डारीको चीन भ्रमण पनि नेपालको राजनीतिमा केन्द्रित थियो । चीन नेपालमा राजनीतिक स्थायित्व चाहन्छ भन्ने कुरा भण्डारीको भ्रमणको सन्देश हो । उता छिमेकी भारत भने नेपालको चीन सम्बन्धप्रति सशंकित देखिन्छ । नेपालले चीनसँग बिआरआई सम्झौता गरेपछि परराष्ट्रमन्त्री आरजु राणा देउवासँग पनि भारतको सम्बन्धमा चिसोपन आएको छ । त्यसैले गत फागुनमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको भारत भ्रमण हल्लामा परिणत भयो ।

नेपालको हरेक राजनीतिक परिवर्तनमा चीनको अप्रत्यक्ष, भारतको प्रत्यक्ष हात देखिने हुँदा अहिले राजावादीहरूको आन्दोलनको पछाडि पनि बाह्य शक्तिको हात छैन भन्न सकिन्न । गणतन्त्र घोषणा गर्दा भारतमा कांग्रेस आईको सरकार थियो भने अहिले बिजेपीको छ । बिजेपी स्वयं हिन्दु धर्मको कट्टर समर्थक पार्टी भएकाले पनि नेपालमा धर्मनिरपेक्षता उसको लागि घाँडो बनेको हुन सक्छ ।

त्यही जगमा राजावादीहरूको आन्दोलन भएको कुरा निर्णायक मोडमा पुगेपछि मात्रै थाहा हुने कुरा हो । अहिलेको आन्दोलन त नेपाली जनताको नाडी छाम्नका लागि मात्रै हो । राजनीतिक दलका नेताहरू प्रति आम नागरिकको चरम असन्तुष्टि छ । त्यो असन्तुष्टिलाई राजावादीको आन्दोलनसम्म जोड्न सकियो भने तेस्रो जनआन्दोलनमा परिणत हुन सक्छ भन्ने अनुमान पनि राजावादीहरूले गरेका छन् ।

जहाँसम्म हिन्दुधर्मको कुरा छ, त्यसको जनमत पनि कमजोर छैन । नेपाली कांग्रेसका केही नेताहरूले त घोषित रुपमै हिन्दुधर्म हुनुपर्ने बताइरहेका छन् । गणतन्त्रपछि नेपालमा मस्लिम र इसाइहरूको बढ्दो संख्याले छिमेकीहरूलाई पिरोलेको छ । संविधान बन्दै गर्दा छिमेकी भारतले ‘धर्म निरपेक्षता’मा आपत्ति जनाएको सुनिएको थियो, त्यसको परिणाम नेपाली जनताले नाकाबन्दी भोग्नु प¥यो । । त्यसैले अहिलेसम्म भारतले नेपालको संविधानलाई ‘प्रश्नबाचकमा राखेको छ ।

त्यतिमात्रै होइन, प्रधानमन्त्री ओलीले नेपालको भूभागलाई चुच्चे नक्सामा समेटेपछि त्यसमा भारतले ‘मौन असन्तुष्टि’ जनाएको छ । यि र यस्ता धेरै पर्दा पछाडिका खेलका कारणले व्यवस्था उल्टिन सक्ने खतरा टरेको छैन, बरु निम्तिएको छ । त्यसलाई सम्बोधन गर्न पनि संविधान संशोधनको एजेन्डालाई कांग्रेस–एमालेको सरकारले गम्भीरतापूर्वक लिनुपर्छ । छिमेकी चासो र गतिविधिमा चनाखो बन्नुपर्छ । दुर्घटना बाजा बजाएर आउँदैन भन्ने कुरा श्रीलंका र बंगलादेशको घटनाबाट पाठ सिक्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्