काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा अध्ययन बिदाको चरम दुरुपयोग भएको तथ्य बाहिर आएको छ । त्रिविले गठन गरेको खोजबिन समितिको प्रतिवेदनले ४०० प्राध्यापकले अध्ययन बिदाको दुरुपयोग गरेको पुष्टि गरेको छ ।

यो दुरुपयोगले विश्वविद्यालयलाई २ अर्बभन्दा बढी आर्थिक क्षति भएको अनुमान गरिएको छ, जसले त्रिविको शैक्षिक र आर्थिक अवस्थामाथि गम्भीर प्रश्न उठाएको छ ।
गत पुस २९ मा उपप्राध्यापक डा.जीवन काफ्लेको संयोजकत्वमा गठित तीन सदस्यीय समितिले ५ महिनाको गहन अनुसन्धानपछि शुक्रवार त्रिविका पदाधिकारीलाई प्रतिवेदन बुझाएको हो ।
समितिका सदस्य सचिव दीपक तिवारी र सदस्य कृष्णहरि आचार्यले क्याम्पस–क्याम्पस पुगेर गरेको अनुसन्धानमा ४०० प्राध्यापकले बिदाको दुरुपयोग गरेको पाइएको छ । प्रतिवेदनअनुसार, १८७ जना प्राध्यापक अध्ययन बिदा सकिएपछि विश्वविद्यालयमा फर्केका छैनन् भने २१३ जनाले उत्तीर्ण भएको प्रमाणपत्र पेस गरेका छैनन् ।
त्रिविको शिक्षक, कर्मचारी सेवासम्बन्धी नियम २०५० अनुसार, अध्ययन बिदा लिएका प्राध्यापकले ३ देखि ५ वर्षसम्म तलबसहित बिदा उपभोग गर्न पाउँछन् । तर, बिदा अवधि सकिएपछि उनीहरूले कम्तीमा बिदा अवधि बराबर विश्वविद्यालयमा सेवा गर्नुपर्ने प्रावधान छ । यदि फर्किएनन् भने बिदामा खाएको तलब–भत्तामा १० प्रतिशत ब्याजसहित फिर्ता गर्नुपर्छ ।
तर, प्रतिवेदनले धेरै प्राध्यापकले यो नियमको ठाडो उल्लङ्घन गरेको देखाएको छ । बिदा लिएर अमेरिका, अष्ट्रेलिया, क्यानडा, युरोपलगायतका मुलुकमा गएका प्राध्यापकहरू उतै बसेर काम गर्ने र अन्तिममा नफर्किने प्रवृत्ति देखिएको छ ।
कबुलियतनामामा त्रिविमा फर्किने र तलब–भत्ता फिर्ता गर्ने प्रतिबद्धता गरे पनि अधिकांशले यस्तो कबुलियतलाई बेवास्ता गरेको पाइएको छ ।
नियमअनुसार ९० दिनसम्म विना सूचना अनुपस्थित रहने प्राध्यापकलाई बर्खास्त गर्न सकिन्छ, तर वर्षौँसम्म नफर्किएका प्राध्यापकमाथि कुनै कारबाही भएको छैन । एक जना प्राध्यापकलाई पीएचडीका लागि बिदा दिँदा त्रिविलाई ४० लाखसम्म आर्थिक भार पर्ने गरेको छ । यस्तो बिदा विज्ञ शिक्षक उत्पादनका लागि दिइए पनि धेरैजसो प्राध्यापकले व्यक्तिगत लाभका लागि दुरुपयोग गरेको पाइएको छ ।
अध्ययन बिदामा गएर नफर्किने प्राध्यापकका कारण त्रिविलाई स्थायी शिक्षकको अभाव भएको छ । यसले करार र आंशिक शिक्षक नियुक्त गर्नुपर्ने बाध्यता सिर्जना भएको छ, जसले शैक्षिक गुणस्तरमा समेत असर परिरहेको छ ।
खोजबिन समितिले बिदा दुरुपयोग गर्ने प्राध्यापकमाथि कडा कारबाहीको सिफारिस गरेको छ । यो प्रकरणले त्रिविको व्यवस्थापकीय कमजोरी र जवाफदेहीताको अभावलाई समेत उजागर गरेको छ ।
वर्षौँसम्म बिदा दुरुपयोग गर्ने प्राध्यापकमाथि कुनै कारबाही नहुनु र तथ्याङ्कको अभाव हुनुले विश्वविद्यालयको प्रशासनिक लापरबाही प्रष्ट हुन्छ । त्रिविसँग हालसम्म अध्ययन बिदा लिएका, फर्किएका र नफर्किएका प्राध्यापकको स्पष्ट तथ्याङ्क नहुनुले यो समस्यालाई झनै जटिल बनाएको छ ।














