काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले मुलुकको राजनीतिक स्थायित्व र विकासका लागि एमाले र नेपाली कांग्रेसबीच सहकार्य अपरिहार्य भएको बताएका छन् । शनिवार प्रगतिशील तथा पेसागत कानुन व्यवसायी सङ्गठन नेपालको तेस्रो राष्ट्रिय सम्मेलन उद्घाटनमा बोल्दै उनले यी दुई प्रतिस्पर्धी दलले लोकतन्त्रका हिस्सेदारका रूपमा बृहत्तर हितमा साझेदारी गर्नुपर्नेमा जोड दिए ।

“कांग्रेस र हामी प्रतिस्पर्धी हौँ, तर लोकतन्त्रका हिस्सेदार पनि हौँ। प्रतिस्पर्धा र सहकार्य सँगसँगै गर्नुपर्छ,” उनले भने । ज्ञवालीले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार गठनपछि निजी क्षेत्रमा आशा जागेको र रोकिएका विकास कार्य अघि बढेको दाबी गरे । उनले संविधानलाई समयानुकूल परिमार्जन गर्नुपर्ने र सबै वामपन्थी दलबीच एकता आवश्यक भएको बताए ।
कार्यक्रममा एमाले निर्वाचन आयोग प्रमुख विजय सुब्बाले लोकतान्त्रिक विधिबाट निर्वाचनमा प्रतिस्पर्धा हुनुपर्ने धारणा राखे। स्थायी कमिटी सदस्य भानुभक्त ढकालले न्यायालयप्रति जनविश्वास बढाउन सबै पार्टी कार्यकर्ताले भूमिका खेल्नुपर्ने बताए। सङ्गठनका अध्यक्ष भोजराज आचार्यले पार्टीका लागि कानुनी सहयोग प्रदान गर्दै आएको जानकारी दिए। सम्मेलनले नयाँ कार्यसमिति चयन गर्नेछ।














