काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयमा तोडफोड र हिंसात्मक गतिविधिमा संलग्न व्यक्तिहरूलाई कडा कानुनी कारबाही गर्न गृहमन्त्री रमेश लेखकलाई निर्देशन दिएका छन् । विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री ओलीले सोमबार सिंहदरबारमा विश्वविद्यालयका पदाधिकारीसँगको छलफलमा यस्तो निर्देशन दिएका हुन् ।

जेठ १४ गते नेपाल विद्यार्थी संघ (नेविसंघ) बाट स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) मा निर्वाचित केही पदाधिकारीले उपकुलपतिको कार्यालयमा तोडफोड गरेका थिए । प्रहरीले उक्त घटनामा संलग्न दुई जनालाई पक्राउ गरे पनि उनीहरूलाई रिहा गरिएको छ । मुख्य आरोपीहरू मदनराज उपाध्याय र भुवन ओझाविरुद्ध भने प्रहरीले मुद्दा दायर गरेको छैन ।
त्रिविले तोडफोडमा संलग्न व्यक्तिहरूलाई कारबाही गर्न नाम किटानसहित प्रहरीमा उजुरी दिएको थियो। तर, गृह प्रशासनको संरक्षणका कारण पक्राउ परेका व्यक्तिहरू रिहा भएको भन्दै विश्वविद्यालय प्रशासनले चिन्ता व्यक्त गरेको छ । छलफलका क्रममा निमित्त उपकुलपति प्राध्यापक खड्ग केसीले प्रहरीले उजुरीका बाबजुद कारबाही नगरेको र पक्राउ परेकाहरू रिहा भएको विषयमा गुनासो गरे । उनले विश्वविद्यालयमा शान्तिपूर्ण र सुरक्षित वातावरण कायम गर्न सुरक्षा व्यवस्था सुदृढ गर्नुपर्ने मागसहित प्रधानमन्त्री ओलीलाई लिखित पत्र बुझाएका छन् ।














