
काठमाडौं । नेपाली कांग्रेसभित्र गृहमन्त्री रमेश लेखक आलोचनाको पात्र बनिरहेका छन् । भिजिट भिसा दुरुपयोग प्रकरणमा पार्टीभित्र र बाहिर सर्वत्र आलोचनाका पात्र बनिरहेका हुन् । नेपाली कांग्रेसको संस्थापन पक्षीय पदाधिकारीहरूले ‘कारबाही’ गर्नुपर्ने बताइरहेका बेला भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकले सुटुक्क इतर समूहका नेता डा. शेखर कोइरालालाई भेटेर परिस्थितिलाई आफ्नो वशमा पारेका छन् ।
भिजिट भिसा प्रकरणमा नाम मुछिएको अवस्थामा गृहमन्त्रीले राजीनामा दिएर छानबिनको मार्गप्रशस्त गर्दा उचित हुने अभिव्यक्ति दिएका नेता कोइरालालाई लेखकले यसैसता सुटुक्क भेटेका हुन् । उनले वसुन्धरास्थित कोइराला निवास इन्द्रपुरी कोलनीमा पुगेर भेटको थिए । उनीहरूका बीच करिब डेढ कुराकानी भएको कोइरालानिकट स्रोतले जनाएको छ । दुवै नेताबीच सिंगल–सिंगल कुराकानी भएको स्रोतको दाबी छ ।
एक्लाएक्लै भेटमा दुवै नेताहरुबीच आगामी महाधिवेशनको विषयमा पनि कुराकानी भएको स्रोतको दाबी छ । उहाँहरुबीच भिजिट भिसा दुरुपयोग, गृहमन्त्रालय सञ्चालनको अवस्था र समग्र पार्टी राजनीतिबारे कुराकानी भएको कोइराला निकट स्रोतले भन्यो ।
नेता कोइरालाले जेठ १० गते गृहनगर विराटनगर पुगेर ‘भिजिट भिसा’ प्रकरणमा मुछिएका गृहमन्त्री लेखकले पदबाट राजीनामा दिनुपर्ने बताएका थिए । अनियमिततामा मुछिएको अवस्थामा राजीनामा दिए गृहमन्त्रीको नैतिकता प्रदर्शन हुने उनको भनाइ थियो । त्यसको दुई दिनपछि जेठ १२ गते सभापति शेरबहादुर देउवानिवास बूढानीलकण्ठमा बसेको कांग्रेस पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा गृहमन्त्रीको राजीनामाको विषयमा कुराकानी भएको थियो ।
पूर्वपदाधिकारी बैठकमा आफूसहित केही नेतालाई स्पष्टीकरण सोध्नु पर्ने विषयमा छलफल भएपछि जेठ १३ गते विराटनगरमा आयोजित पार्टीको शुभेच्छुक संगठन नेपाल नाइँ संघको राष्ट्रिय परिषद् उद्घाटनका क्रममा नेता कोइरालाले असन्तुष्टि व्यक्त गरेका थिए ।
सभापति निवासमा भएको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक आफ्नो बारेमा मात्रै केन्द्रित रह्यो भन्ने सुन्दा अचम्म लागेको बताएका थिए । त्यसपछि जेठ १६ गते नेता कोइराला र महामन्त्री गगनकुमार थापाबीच बालुवाटारमा ११ महिनापछि भेट भएको थियो ।
स्रोतका अनुसार प्रधानमन्त्री ओलीले गृहमन्त्री लेखकलाई भिजिट भिसा प्रकरणबारे पार्टीका नेताहरू मिलाउन सुझाव दिएपछि कोइरालालाई भेटेका थिए । दुवै नेताहरुको भेटमा भिजिट भिसाको दुरुपयोग बारे कुराकानी भएको थियो । भिजिट भिसा प्ररकणमा पार्टीका नेताहरु दुइ भागमा विभाजित भएका थिए । अहिले लेखकको विषयमा पार्टीको संस्थापन पक्ष र संस्थापनबाहिर सन्तुष्ट छैनन । यद्यपि, पार्टीको निर्णयलाई मानिरहेको मात्र बताएका छन् ।
स्रोतका अनुसार शेखर कोइरालासँगको भेटमा गृहमन्त्री लेखकले आफू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमार्फत भएको भनिएको भिजिट भिसा सेटिङमा संलग्न नरहेको प्रष्टिकरण दिएका थिए ।
‘गृहमन्त्रीले भिजिट भिसा सेटिङमा आफ्नो कुनै संलग्नता नरहेको, आफूलाई बिना कसुर बदनाम गरिएको कुरा राख्नुभयो,’ ती नेताले दृष्टिसँग भने । गृहमन्त्रीले नेता कोइरालालाई यस विषयमा थप नबोलिदिनसमेत आग्रह गरेका थिए । ‘सरकारलाई, गठबन्धनलाई र मलाई अप्ठ्यारो पर्छ । यो बारे नबोलिदिनुस् भनेर भन्नुभयो,’ ती नेताले भने ।
जवाफमा नेता कोइरालाले गृहमन्त्री लेखकलाई आफूले व्यक्ति लक्षित गरेर विराटनगरमा नबोलेको स्पष्ट पारे । प्रश्न उठिसकेपछि जवाफ दिनु प्रजातान्त्रिक मूल्य–मान्यता भएकाले नैतिकता देखाउँदा राम्रो हुने आशय आफ्नो रहेको कोइरालाको भनाइ थियो ।
कांग्रेसभित्रको आन्तरिक राजनीतिबाट समेत प्रताडित रहेका लेखकले कोइरालालाई भेटेपछि अहिले साम्य भएको छ । कोइरालाई भेटेर आएपछि लेखकले कांग्रेसका अन्य नेताहरुसँग पनि लविङ गरेका थिए । कांग्रेसभित्र जुनियर नेता रहेका लेखकलाई कञ्चनपुरकै एनपी साउदले चुनौति दिएका छन् । एकै जिल्लाका यी दुइ नेताहरुबीच को पहिलो बन्ने भन्ने प्रतिस्पर्धा समेत रहेको छ । देउवा निकटका यी दुवै नेताहरु एकले अर्काको राजनीतिमा धक्का दिने कोसिसमा छन् ।














