काठमाडौं । काठमाडौं जिल्ला अदालतले नेपालखबर र बिजमाण्डु अनलाइनलाई ‘अदालतको अवहेलनामा कारबाही किन नगर्ने’ भनी लिखित जवाफ पेश गर्न आदेश दिएको छ ।

धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठको चरित्रहत्या गर्ने समाचार हटाउन अदालतले दिएको आदेश अवज्ञा गरेको भन्दै श्रेष्ठले अवहेलनामा कारबाहीको माग गर्दै रिट दर्ता गराएका थिए ।
जिल्ला न्यायाधीश विष्णुप्रसाद पन्थीको एकल इजलासले अवहेलनामा कारबाही किन नगर्ने भनी विपक्षीलाई एक साताभित्र स्वयं उपस्थित भई लिखित जवाफ पेश गर्न आदेश दिएको हो ।
यसअघि अदालतले श्रेष्ठको बारेमा प्रकाशित ‘आधारहीन समाचार’ हटाउन ती अनलाइनलाई अन्तरिम आदेश दिएको थियो । तर, अदालतको आदेशलाई चुनौती दिँदै उनीहरुले समाचार नहटाएको भन्दै अध्यक्ष श्रेष्ठ अवहेलनामा कारबाही माग गर्दै अदालत गएका थिए ।














