Logo
Logo

वृहत्तर जनकपुर विकास परिषद्‌का तत्कालीन कार्यकारी निर्देशकसहित ९ जनाविरुद्ध मुद्दा


756
Shares

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का कार्यकारी निर्देशक बलरामठाकुरसहित नौ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले एक करोड ७५ लाख ६७ हजार रुपैयाँभन्दा बढी रकम बिगो माग दाबी गर्दै उनीहरू विरुद्ध मुद्दा दायर गरेको हो ।

The current image has no alternative text. The file name is: adalat.gif

ठाकुसहित बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का लेखापाल सावित्री गिरी, परिषद्का प्रशासकीय अधिकृत चिरंजीबीराज शर्मा ढुङ्गाना, कम्प्यूटर अधिकृत कृष्ण मुरारी सिंह, परिषद्का सवारीचालक विक्की कुमार चौधरी, उपभोक्ता समिति अध्यक्ष विजयकुमार यादव र कोषाध्यक्ष बविता देवी साह, ठेकेदार जितेन्द्र कुमार यादव र ठाकुरकी पत्नी इन्दुलेखा कुमारी ठाकुरविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको हो ।

ठाकुर २०७५ मङ्सिर ५ देखि २०७९ मङ्सिर ४ सम्म परिषद्‌का कार्यकारी निर्देशक थिए । ठाकुर कार्यकारी निर्देशक रहँदा कोषमा व्यापक भ्रष्टाचार भएको समाचार सार्वजनिक हुने गरेको थियो । सुविधा दुरुपयोग, सरकारी छाप र दस्तखत नै किर्ते गरी ठगी गरेको लगायत आरोप ठाकुरसहितविरुद्ध लागेको थियो ।

बृहत्तरबाट भएको विभिन्न निर्माण सम्बन्धीको काममा व्यापक अनियमितता भएको भन्दै परेको उजुरीका आधारमा अख्तियारले २०७९ भदौ २० गते परिषद्‌मा छापा हानी कागजात नियन्त्रणमा लिएको थियो ।

सरकारी छाप र दस्तखत किर्ते गरी ३० लाख रुपैयाँ हिनामिना गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा धनुषामा जाहेरी परेपछि ठाकुरलाई गत पुस मसान्तमा ललितपुरको भैंसेपाटीबाट प्रहरीले पक्राउ गरेको थियो । ठाकुरले बिना प्रक्रिया परिषद्‍को रकम खर्च गरेको, स्करपियो गाडी खरिद गरी बिक्री गर्दा अनियमितता गरेको भन्नेसमेत ब्यहोराको उजुरी अख्तियारमा परेको थियो ।

प्रतिक्रिया दिनुहोस्