काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्क्रमणकालीन न्यायसम्बन्धी विषयलाई कुनै कमजोरी बिना अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् । शुक्रवार सिंहदरबारमा बसेको प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठकमा बोल्दै उनले यो विषयमा भएको ढिलाइप्रति सचेत रहँदै संवेदनशीलतापूर्वक काम गर्ने बताए ।

बैठकमा सङ्क्रमणकालीन न्यायका लागि गठित संयन्त्रहरूले हालसम्म गरेका प्रगतिबारे सामान्य जानकारी प्रस्तुत गरिएको प्रधानमन्त्रीका विशेष सल्लाहकार अग्नि खरेलले बताए । उनका अनुसार कार्यालय व्यवस्थापनलगायतका विषयमा पनि छलफल भएको थियो । सरकारले सङ्क्रमणकालीन न्यायसम्बन्धी आयोगलाई सहजीकरण गर्न तयार रहेको र राजनीतिक दलहरूले उपयुक्त समन्वयमा आयोगलाई स्वतन्त्र रूपमा काम गर्न दिने कुरामा जोड दिएको खरेलले उल्लेख गरे ।
स्वास्थ्य मन्त्रालयले द्वन्द्वपीडितहरूको उपचारका लागि सरकारी अस्पतालहरूलाई सक्रिय बनाउन विशेष संयन्त्र निर्माण गरेको जानकारी पनि बैठकमा दिइयो । कार्यविधिको तहमा रहेर पीडितहरूको उपचार सुनिश्चित गरिने सरकारले जनाएको छ ।
बैठकमा प्रधानमन्त्री ओलीले दैलेखमा पेट्रोलियम पदार्थको स्रोत फेला परेको खुसीको खबर साझा गर्दै सबै नेतालाई बधाई दिए । बैठकमा नेकपा (एमाले) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओली, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतका शीर्ष नेताहरूको सहभागिता थियो ।











