Logo
Logo

अमला रोकालाई अदालत लगिँदै, आजै आदेश आउने


693
Shares

काठमाडौं । बहुचर्चित सुन प्रकरणकी प्रतिवादी अमला रोकालाई आज पनि अदालतमा उपस्थित गराइँदैछ ।

शुक्रबार प्रहरीले टोखाबाट गिरफ्तार गरिएकी रोका आइतबार जिल्ला सरकारी वकिलको कार्यालयमार्फत जिल्ला अदालत, काठमाडौंमा उपस्थित गराइएको थियो । आइतबार न्यायाधीश बलराम लम्सालको इजलासमा थुनछेक बहस भएको थियो । बहस नसकिएपछि मुद्दालाई हेर्दाहेर्दैमा राखेर रोकालाई प्रहरी हिरासतमा पठाइएको थियो ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)अन्तर्गत आर्थिक अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी होविन्द्र बोगटीका अनुसार आज कार्यालय समय सुरु हुनेबित्तिकै रोकालाई जिल्ला अदालतमा उपस्थित गराइने छ । आज उनलाई पुर्पक्षका लागि थुनामा राख्ने वा धरौटीमा रिहा गर्नेमध्ये आदेश आउन सक्ने बताइएको छ ।

२०८० साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार जाँचबाट शंकास्पद सुन बाहिरिएपछि यो घटनाको पटाक्षेप भएको थियो । राजस्व अनुसन्धान विभाग र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)ले गरेको अलग अलग अनुसन्धानबाट अमलाको सक्रिय संलग्नता पुष्टि भएको थियो । अमलाका पति दावा छिरिङ सुन बरामद भएको १२औँ दिनमा पक्राउ परेका थिए ।

जिल्ला अदालत स्रोतका अनुसार आइतबार थुनछेक बहस करिब सकिएको थियो । न्यायाधीशले चाहँदा कार्यालय समयपछि पनि केही समय लिएर आदेश गर्न सक्थे । तर, उनलाई धरौटीमा छुटाउन सक्रिय गिरोहको चलखेल बढेसँगै न्यायाधीशहरू उक्त मुद्दामा आदेश गर्न हच्किएका थिए ।

प्रतिक्रिया दिनुहोस्