
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राप्रपाले आजपनि प्रतिनिधिसभा बैठक बहिष्कार गरेको छ । सरकारले अध्यागमन र भिजिट भिसा प्रकरणमा छानबिन गर्न गठन गरेको समितिलाई अमान्य घोषणा गर्दै उनीहरुले आजको सदन बहिस्कार गरेका हुन् ।
संसद बैठक सुरु भएलगत्तै सभाुमख देवराज घिमिरेले गृहमन्त्री रमेश लेखकलाई बोल्न समय दिएका थिए । त्यसपछि बोलेका लेखकले सोमबार पूर्वमुख्य सचिव शंकरदास वैरागीको नेतृत्वमा गठित छानबिन समितिबारे सदनलाई जानकारी गराए ।
सोपश्चात रास्वपाका डा. स्वर्णिम वाग्लेले बोलेका थिए । उनले ‘उच्चस्तरीय संसदीय छानबिन समिति एवम् जाँचबुझ छानबिन आयोग ऐन २०२६’ अन्तर्गत आयोग गठन हुनुपर्ने माग गरे । उनले उक्त छानबिन आयोग गठन नभएसम्म संसदको अवरोध जारी राख्ने घोषणा समेत गरे ।
उनले भने, ‘भिजिट भिसाको दुरुपयोग गरी मच्चाइएको लुट, संगठित अपराध, सम्पत्ति शुद्धीकरण र मानव तस्करीबारे यो अलोकप्रिय सरकारले यस्तै पूर्वानुमान कार्य गर्ला भन्ने हामीलाई पूर्वाभास थियो । शंंकरदास किन ? तीर्थ भट्टराईलाई सुनपानी छर्केर समिति बनायो भइहाल्यो नि ।’
साथै उनले बहालवाला वा पूर्व न्यायाधीशको अध्यक्षतामा छानबिन आयोग गठन भएमात्रै पार्टीलाई मान्य हुने बताए । ‘भिजिट भिसा प्रकरणमा परोक्ष ढंगले गृहमन्त्री संलग्नु हुनुहुन्छ । तीर्थ भट्टराई उहाँ(गृहमन्त्री)को मर्निङवाक पार्टनर हुन् । हामी नयाँ हौँ । बेवकुफ होइनौँ’, उनले भने, ‘त्यसकारण उच्चस्तरीय संसदीय छानबिन समिति एवम् जाँचबुझ छानबिन आयोग ऐन २०२६ अन्तर्गत बहालवाला वा पूर्व न्यायाधीशको अध्यक्षतामा छानबिन आयोग गठन गर्नुपर्छ ।’
त्यसपछि बोलेका राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले पनि गृहमन्त्रीकै प्रस्तावमा गठन भएको यो समितिले निष्पक्ष छानबिन गर्न नसक्ने भन्दै असन्तुष्टि जनाए । यो समिति गृहमन्त्रीलाई चोख्याउन बनाइएको उनको भनाइ थियो । सरकारले हिजो छानबिन समिति बनाउने निर्णय गरेको थियो । तर, प्रतिपक्षी दल रास्वपा र राप्रपाले उक्त समिति गठनलाई अस्वीकार गरेका छन् ।














