काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र यसका सभापति रवि लामिछानेमाथि अन्याय नहोस् भन्ने उद्देश्यले आफूले निरन्तर प्रयास गरिरहेको बताएका छन् ।

मङ्गलवार सिंहदरबारमा नेकपा एकीकृत समाजवादीका नेताहरूसँगको छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले भने, ‘म रास्वपालाई धेरै कुरा भन्न चाहन्नँ । तर, रास्वपा र रवि लामिछानेमाथि अन्याय नहोस् भनेर मैले अन्तिम समयसम्म प्रयास गरेँ र अझै गरिरहेको छु ।’
उनले रास्वपाका नेता–कार्यकर्ताले समयक्रममा यो कुरा बुझ्ने विश्वास व्यक्त गरे। ‘रास्वपाका साथीहरूले एकदिन यो कुरा अवश्य बुझ्नुहुनेछ,’ पूर्वप्रधानमन्त्री प्रचण्डले भने ।
प्रचण्डले छलफलमा संसद्मा हाल देखिएको परिस्थिति र समाजवादी मोर्चालाई कसरी अघि बढाउने भन्ने विषयमा सामान्य चर्चा भएको जानकारी दिए । ‘सदनको पछिल्लो अवस्थाबारे छलफल भयो र समाजवादी मोर्चालाई कसरी अगाडि लैजाने भन्नेमा पनि सामान्य कुराकानी भयो,’ उनले भने ।














