चितवन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आर्थिक वर्ष २०८२/८३ को बजेट पारित भइसकेको बताएका छन् । शुक्रबार चितवनमा आइपुगेका देउवाले यस्तो दावी गरेका हुन् ।

सञ्चारकर्मीहरूसँग कुरा गदै ‘टेक एन्ड पे’ को व्यवस्था सहजै हटाएपछि बजेट पास भइसकेको बताएका हुन् । उनले भने, ‘ठुलो कुरै थिएन नि, त्यसमा असमझदारी थियो । हटाएपछि बजेट पारित भइसक्यो । दुईटा अलग अलग पार्टी हो नि ।’
सरकारमा कुनै समस्या नभएको भन्दै उनले सरकारमा असमझदारी देखिनु सामान्य भएको समेत बताए । एमाले पार्टी नै अलग भएकाले केही निर्णयमा फरक मत आउनु सामान्य भएको बताएका हुन् ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको संलग्नताबारे पत्रकारहरुले सोधेको प्रश्नमा भने, ‘कहाँबाट हुनु नि । बेकारको झूटा कुरा हो ।’ उनले पार्टीको १५औँ महाधिवेशन समयमै हुने बताए । उनले भने, ‘महाधिवेशन समयमै हुन्छ । यसका लागि पार्टीभित्र छलफल भइरहेको छ ।’














