काठमाडौं । देशको सर्वोच्च पद सम्हालिसकेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नेकपा (एमाले)को सक्रिय राजनीतिमा औपचारिक रूपमा फर्किएकी छन् ।
मदन भण्डारीको ७४औँ जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रममा भण्डारीले पार्टी राजनीतिमा पुनः सक्रिय हुने घोषणा गरिन् । उक्त कार्यक्रममा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली प्रमुख अतिथि थिए । तर, भण्डारीको घोषणाअघि नै उनी कार्यक्रमबाट बाहिरिइसकेका थिए ।

ओलीको इच्छाविपरीत भण्डारी सक्रिय राजनीतिमा फर्किएपछि एमालेभित्र नयाँ शक्ति सन्तुलनको बहस सुरु भएको छ । ओलीले रोक्न अनेक प्रयास गरे पनि भण्डारीको पुनरागमन रोक्न सकेनन् । ‘निर्विकल्प’ ठानिएको ओलीको नेतृत्वलाई भण्डारीले खुला चुनौती दिएकी छन् ।
‘फरक ढंगको राजनीतिक जिम्मेवारीबाट मुक्त भएपछि एमालेमै रहेर पार्टीको राजनीति यात्रालाई निरन्तरता दिने पवित्र उद्देश्यका साथ मैले पार्टी सदस्यता नवीकरण गरेको छु,’ भण्डारीले ‘जबजको तीन दशक’ शीर्षकको बहस कार्यक्रममा भनिन्, ‘अब म एमाले परिवारको एक सदस्यका रूपमा पुनः जोडिएको छु र यसमा म गर्व गर्छ ।’
उनले एमालेमा रहेर राजनीति यात्रालाई निरन्तरता दिए पनि आफ्नो कुनै विशिष्ट महत्त्वाकांक्षा नभएको बताइन् । महाधिवेशको संघारमा सक्रिय राजनीतिमा फर्किएको उद्घोष गरे पनि ‘विशिष्ट महत्त्वांकाक्षा नभएको’ भन्ने अभिव्यक्तिले उनी नेतृत्वमा आउने वा नआउने भन्नेबारे प्रस्ट भएको छैन । तर, उनी निकट नेताहरू पार्टीभित्र ७० वर्षको उमेर हद र दुई कार्यकालभन्दा बढी नेतृत्वमा रहन नपाउने विधानमा व्यवस्था गराएर भण्डारीले ओलीलाई रोक्न चाहेको दाबी गर्छन् ।
भण्डारीले यसबीचमा देशका विभिन्न भागमा पुगेर मुलुकको सामाजिक–आर्थिक विकासका बारेमा जनतासँग अन्तरक्रिया गरेको, आफ्नै निवासमा पनि विभिन्न क्षेत्रका विज्ञसँग भेटघाट गरेको र त्यसैको निचोडका रूपमा सक्रिय राजनीतिलाई निरन्तरता दिने निर्णयमा पुगेको उल्लेख गरिन् ।
सामाजिक न्याय र समानतामा आधारित समाजवाद निर्माण गरेर जनतालाई सुखी र राष्ट्रलाई समृद्ध बनाउनुपर्ने दायित्व अझै पूरा नभएकाले आफू सक्रिय राजनीतिको यात्राको आउनुपरेको तर्क उनले गरेकी छन् । ‘देश र जनताको हित नै मेरो ध्येय र लक्ष्य हो, जननेताले भन्ने गर्नु हुन्थ्यो- जनता भनेका भगवान् हुन्, राजनीतिमा थकाइ भन्ने शब्दावली हुँदैन,’ उनले भनिन्, ‘आज तपाईँहरूका बीचमा हुँदा मदनका यी भनाइहरू मैले पुनः स्मरण गर्दै यहाँ उल्लेख गरेको छु ।’
उनीअघि बोलेका ओलीले भने माधवकुमार नेपालले एमाले विभाजित गरेको प्रसंग कोट्याउँदै एमाले ध्वस्त हुन्छ भनेर कसैले बम पड्काउन खोजेको हो भने त्यो सम्भव नहुने बताए । ‘कुनै अनलाइनहरूले विद्या भण्डारी आउने कार्यक्रम भाँड्न खोजिएको भनेर विश्लेषण गरेका छन् । तर, एमाले जहाँ छ, एमाले निकटका संगठनहरू जहाँ छन्, त्यसलाई कसरी भाँड्ने ? म आउने, विद्या भण्डारीजी आउने कार्यक्रम कसरी भाँडिन्छ ?’ ओलीको भनाइ थियो, ‘यहीँबाट एमाले ध्वस्त हुन्छ भनेर कसैले बम पड्काउँछु भन्ने ठानेको छ भने पड्कनेवाला छैन, आशा नगरे हुन्छ ।’
महाधिवेशनको संघारमा विद्याको पुनरगमानले एमालेभित्र दुई ध्रुवबीचको शक्ति संघर्ष फेरि चर्किने संकेत देखिएको छ । भण्डारीको सम्भावित फिर्तीले एमालेको आगामी महाधिवेशन तथा नेतृत्व चयनमा उल्लेख्य प्रभाव पार्ने अनुमान गरिएको छ । भण्डारीलाई पार्टीको सम्भावित अध्यक्ष बनाउने गृहकार्य भित्रभित्रै थालिएको चर्चा एमालेभित्र व्यापक छ ।
ओलीको ‘एकलौटी’ शैलीबाट असन्तुष्ट नेताहरूका लागि भण्डारी नयाँ आशाको किरण बनेकी छन् । ओलीको कार्यशैलीमाथि प्रश्न उठाएरै भदौ ०७८ मा नेता माधवकुमार नेपालले एमाले विभाजन गरेका थिए । नेपालले एस स्थापना गरेपछि र असन्तुष्ट नेता भीम रावल निष्कासनमा परेपछि ओलीलाई चुनौती दिन सक्ने नेता देखिएका छैनन् ।
दुई नेताबीच चिसोपन केही वर्ष अघिदेखि नै सुरु भएको थियो । भण्डारी एमालेको ब्यानरमुनिका कार्यक्रममा देखिन थालेपछि ओली खुलेर असन्तुष्टि जनाउन थालेका थिए । चीन भ्रमणपछि पूर्वी नेपालमा उनका कार्यक्रमहरू बाक्लिँदा ओलीको असहजता अझै देखिएको थियो ।
ओलीले २५ जेठमा पार्टीको भ्रातृ संस्था अनेरास्ववियुको अधिवेशन उद्घाटन गर्दै भण्डारीप्रति कटाक्ष गरेका थिए । ‘अहिले हल्ला चलेको छ, तलतल यो ग्रुप भनेका छन्, त्यो ग्रुप भनेका छन् । यसको कुनै आवश्यक छैन । अर्को खेल हुन खोजेको छ यहाँ,’ ओलीले भनेका थिए, ‘फलानो आउने रे, यस्तो उस्तो । पार्टीमा कुनै छलफल भएको छैन, को अध्यक्ष को उपाध्यक्ष । महाधिवेशन घोषणा भएको छैन ।’
ओलीले पार्टीका कार्यक्रममा जाँदा अनुमति लिनुपर्नेसम्मको भनाइ राखेका थिए । त्यसलाई जबाफ दिँदै पूर्वराष्ट्रपति भण्डारीले देशभित्र घुमफिर गर्न एमालेका कमिटी र नेताहरूसँग अनुमति लिइरहन नपर्ने प्रतिक्रिया दिएकी थिइन् ।
ओलीले भण्डारीलाई लक्षित गर्दै नेतृत्वको विकल्प नखोज्न चेतावनी दिँदै आएका छन् । ओलीले आफूबिना एमाले १५–२० वर्षसम्म चल्न नसक्ने दाबी बारम्बार गर्दै आएका थिए ।
केही समयअघि भण्डारीले एक अन्तर्वार्तामा ओलीको स्वास्थ्य र उमेरलाई लिएर प्रश्न उठाएपछि ओलीले सार्वजनिक रूपमा आक्रोश व्यक्त गरेका थिए । नेपाल कम्युनिष्ट पार्टीको ७६औं स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले अहिले नै कसैले हतार गर्न नहुने बताएका थिए ।
उनले भनेका थिए– ‘कतिपयलाई मेरो उमेर र मेरो स्वास्थ्यको चिन्ता छ । अहिले म बिरामी छैन । अबको २०–२५ वर्षपछि बुढो हुन्छु । कसैले हतार गरेर हुँदैन । केपी ओलीविनाको एमाले कसैले कल्पना गरेको छ भने त्यो पूरा हुँदैन ।’
भण्डारीलाई अगाडि बढाउन चाहनेहरूतर्फ लक्षित गर्दै ओलीले भनेका थिए, ‘कसैले एमालेविनाको देश र केपी ओलीविनाको एमाले खोजेका होलान्, तिनको मनसाय राम्रो भए त म सरक्क छाडिदिने थिएँ । एमालेविनाको नेपाल हेरौँला, मिसन २०८४ मा, हामी झन् बलियो भएर आउनेछौँ ।’
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिक पुनरागमनले एमालेको आन्तरिक शक्ति सन्तुलनमा महत्त्वपूर्ण परिवर्तन ल्याउन सक्ने आँकलन गरिएको छ । उनी कम्युनिस्ट आन्दोलनको एकताका लागि बारम्बार नेताहरूलाई सुझाव दिँदै आएकी छन्, जसले उनलाई एकताका प्रतीकका रूपमा समेत प्रस्तुत गरिरहेको छ ।
गत फागुनमा ‘केपी शर्मा ओलीः सपना, सङ्घर्ष र सङ्कल्प’ पुस्तकको लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै भण्डारीले नेपालको कम्युनिस्ट आन्दोलन एकताबद्ध बनाउन सुझाव दिएकी थिइन् । तर, ओली भने कम्युनिस्ट आन्दोलनलाई जुटाउनेभन्दा पनि फुटाउनेतिर लागेका छन् । अन्य कम्युनिष्ट नेताहरूले पनि एकतामा जोड दिँदै आएका छन् ।
एमालेको आगामी भदौमा हुने पार्टी विधान महाधिवेशनलाई दुई नेताबीचको शक्ति संघर्षको निर्णायक विन्दु मानिएको छ । भण्डारी पक्षधर नेताहरूले पार्टीमा ७० वर्षको उमेर हद र दुई कार्यकालभन्दा बढी नेतृत्व लिन नपाउने गरी विधानमा व्यवस्था गरिनुपर्ने मुद्दा अघि सारेका छन् ।
७० वर्षको उमेर हद वा दुई वर्षको कार्यकाल लागू भएमा ओलीलाई आगामी महाधिवेशनबाटै नेतृत्वमा आउनबाट रोक्न सकिने दाउ भण्डारी पक्षधर नेताहरूको छ । ओली र उनी पक्षीय नेताहरू यो दुवै व्यवस्था विधानमा राख्न नदिने पक्षमा देखिएका छन् ।
यसले आगामी दिनमा एमालेको नेतृत्वमा कस्तो प्रभाव पर्छ भन्ने विषय नेपाली राजनीतिका लागि निकै महत्त्वपूर्ण बन्नेछ ।














