
काठमाडौं । सभामुख देवराज घिमिरेले राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडा र सचिव सुरजकुमार दुरासँग छलफल गरेका छन् ।
आइतबार मात्रै प्रतिनिधिसभाबाट पास भएको संघीय निजामती सेवा विधेयकमा कुलिङ पिरियड सम्बन्धी व्यवस्थामा ‘बाहेक’ थपिएपछि यसबारे सभामुख घिमिरेले उनीहरुसँग छलफल गरेका हुन् ।
सभाबाट पास गरिएको भन्दा फरक शब्द परेको बाहिर आएपछि सभामुख घिमिरेले केहि बेरअघिबााट उनीहरूसँग छलफल गरिरहेका हुन् ।
राज्य व्यवस्था समितिबाट विधेयकको प्रतिवेदन सर्वसम्मतिले पास हुँदा सरकारी सेवाबाट राजीनामा वा अवकाश भएको दुई वर्षसम्म कुनै पनि सरकारी नियुक्ति लिन नपाउने व्यवस्था राखिएको थियो ।
तर, प्रतिनिधिसभाबाट पास भएको विधेयकमा हेरफेर गरिएको भन्दै सत्तारुढ नेपाली कांग्रेस, प्रतिपक्ष नेकपा माओवादी र अन्य दलका नेता तथा सांसदहरुले आपत्ति जनाएका छन् ।
प्रतिनिधिसभाबाट पारित भएको उक्त संघीय निजामती सेवा विधेयकमा अनधिकृत रूपमा परिवर्तन गरिनु सामान्य घटना नभएको उनीहरुको भनाई छ ।














