
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानसभा सदस्य एवं कांग्रेस बाराका पूर्वजिल्ला सचिव रामअयोध्याप्रसाद यादवको निधनप्रति दुःख व्यक्त गरेका छन् ।
गएराति ७२ वर्षको उमेरमा वीरगञ्जस्थित हेल्थकेयर अस्पतालमा उपचारका क्रममा निधन भएपछि देउवाले आज शोक विज्ञप्ति जारी गर्दै उनीप्रति श्रद्धाञ्जली अर्पण र शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका हुन् । स्व यादवले कांग्रेसको सङ्गठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा निर्वाह गरेको सक्रिय योगदान पार्टीमा सदा स्मरणीय रहिरहने देउवाले उल्लेख गरेका छन् ।
बाराको सुवर्ण गाउँपालिका–२ निवासी यादव लामो समयदेखि मधुमेहबाट पीडित थिए । विसं २०७० को संविधानसभा निर्वाचनमा बारा क्षेत्र नं १ बाट उनी निर्वाचित भएका थिए । यादवले कांग्रेसको सङ्गठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका थिए । उनको निधनबाट कांग्रेसले एक अग्रज र अनुभवी राजनीतिज्ञलाई गुमाएको जनाएको छ ।














