काठमाडौं । संसदमा दुई ठूला दल मिलेर बनाएको सरकार एक वर्ष पुग्दैगर्दा मन्त्रीहरूको पद भने धरापमा परेको छ । संसदको पहिलो र दोस्रो दल मिलेर दुईतिहाइको सरकार बनाएको एक वर्ष पुग्दैगर्दा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा रहेका मन्त्रीहरू पनि फेरबदल हुने भएका हुन् । एमालेभित्र मन्त्रालय र मन्त्रीहरूको कामको बारेमा समीक्षा हुन थालेको र कांग्रेसभित्र मन्त्रीहरू फेरबदल गर्नुपर्ने आवाज पनि उठ्न थालेपछि वर्तमान सरकारका केही मन्त्री फेरबदल हुनसक्ने सम्भावना रहेको छ ।

कांग्रेसको जारी केन्द्रीय कार्यसमिति बैठकमा यो एजेन्डाले प्रवेश पाइसकेको छ । प्रधानमन्त्री ओलीले केही मन्त्रीहरू पहिला नै फेर्न खोजेका थिए । तर कांग्रेसले तत्कालै फेर्न नमानेपछि रोकिएको थियो । एमालेबाट प्रधानमन्त्रीसहित नौ जना सरकारमा सामेल छन्, जसमा ६ जना मन्त्रीलाई हटाउने तयारी भएको एमाले स्रोतको दाबी छ ।
स्रोतको दाबीमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल आफैँ सरकारबाट बाहिरिने तयारीमा छन् । पौडेललाई ओलीले सुरुमै मन्त्री बनाउन चाहेका थिएनन् । उनलाई रोक्न महासचिव शंकर पोखरेल नै सक्रिय भएको एमाले स्रोतको दाबी छ । अर्थमन्त्री भएर सधैँ वाहीवाही कमाएका पौडेल यसपटक भने निकै विवादमा तानिएका छन् । राष्ट्र बैंकको गभर्नर नियुक्ति, बीमा समितिको अध्यक्ष नियुक्ति, नेप्सेको सीईओ नियुक्तिलगायतका दर्जनभन्दा बढी नियुक्तिमा पौडेल विवादमा तानिएपछि उनी आफै पनि पदमा बस्न इच्छुक नदेखिएको स्रोतको दाबी छ ।
साथै, अहिलेको बजेटमा पनि कोकाकोलालाई अर्बौं रुपैयाँ छुट दिने विषयमा पनि मन्त्री पौडेल विवादमा तानिएका छन् । साथै, केही व्यापारिक समूहको हित हुने गरी डिजिटल बैंक स्थापना र सम्पत्ति व्यवस्थापन कम्पनी खोल्ने नीति तथा कार्यक्रममा समेटिएको भन्दै आलोचना भइरहेको छ । एमाले स्रोतले भन्यो, ‘शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री, सञ्चार तथा सूचना प्रविधिमन्त्रीबाहेक सबै मन्त्रीहरू हटाउने तयारी भइरहेको छ । भौतिक योजनामन्त्रीको कामप्रति प्रधानमन्त्री आफै सन्तुष्ट छैनन् ।
पछिल्ला दिनहरूमा एमालेका सांसदहरूले पनि मन्त्रीको कार्यशैलीको आलोचना गर्न थालिसकेका छन् । एमालेबाट मन्त्री भएकाहरू कोही कार्यशैली र कोही गुटगत कारणले फेरबदल हुन थालेको स्रोतको दाबी छ । नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनको प्रथम त्रैमासिकको समीक्षा बैठकमा प्रधानमन्त्री ओलीले सोचेजति काम नभएकाले विद्यमान स्थितिमा परिवर्तन ल्याउनैपर्ने दबाबमा सरकार रहेको बताएका थिए । तर, ओलीले सुरुबाट जेजति दबाबमा सरकार रहेको बताए पनि नागरिकको जीवनमा परिवर्तन ल्याउने गरी सरकारले काम गर्न नसकेको पछिल्लो परिस्थितिमा कांग्रेसभित्र र बाहिर पनि आलोचना भइरहेको छ ।











