
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संघीय संसद्को अधिवेशन आह्वान गर्न माग गरेको छ । सिंहदरबारमा बसेको कांग्रेस संसदीय दलको बैठकले प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक तत्काल आह्वान गर्न सरकारसँग माग गर्ने निर्णय गरेको हो ।
त्यस्तै बैठकले अदालतमा बिचौलियासँग मिलेर मुद्दामा सेटिङ गरेको प्रकरणको छानबिनका लागि उच्चस्तरीय संसदीय समिति गठन गर्न माग गर्ने निर्णय गरेको छ ।
अदालतमा सेटिङ भएको भनिएको प्रकरणमा न्यायालय, सरकार प्रमुख र प्रहरीसमेतको नाम जोडिएकाले सरकारी निकायबाट हुने छानबिन निष्पक्ष हुनेमा विश्वास नभएको प्रमुख सचेतक बासना थापाले बताइन् ।
त्यसैले संसद्बाटै उच्चस्तरीय छानबिन समिति गठन हुनुपर्ने कांग्रेसको माग रहेको उनको भनाइ छ । बैठकमा प्रेस स्वतन्त्रता, न्यायालय तथा संवैधानिक निकायहरूको स्वतन्त्रता र स्वायत्तता अक्षुण्ण राख्ने विषयमा पनि छलफल भएको थियो ।
















