Logo
Logo

को-को हट्दैछन् कांग्रेसका मन्त्री ?


21.7k
Shares

काठमाडौं । संसदमा दुई ठूला दल मिलेर बनाएको सरकार एक वर्ष पुग्दै गर्दा मन्त्रीहरुको पद भने धरापमा परेको छ । कांग्रेसको जारी केन्द्रीय कार्यसमिति बैठकमा यो एजेन्डाले प्रवेश पाइसकेको छ भने एमालेका सांसद सूर्य थापालगायतले बजेटमाथि छलफलका क्रममा पनि मन्त्री फेर्न प्रधानमन्त्री ओलीलाई सुझाव दिदा एमाले र कांग्रेसका एकाधबाहेक सबै मन्त्रीहरु फेरबदल हुने स्रोतको दावी छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले काम गर्न नसकेको आरोप पहिलादेखि नै थियो । साथै, कर्मचारी सरुवाको सन्दर्भमा पनि उनीमाथि प्रश्न उठेको छ । माओवादी एमालेको गठबन्धनदेखि नै निरन्तरता पाएका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले अपेक्षित परिणाम नदिएको भन्दै एमालेभित्र आलोचना भइरहेको छ ।

मन्त्री भण्डारी सुपारी काण्डमा मुछिएका व्यक्ति हुन् । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता सिंहदरबारमा कर्मचारी सरुवा सन्दर्भमा बढी नै विवादमा तानिएका छन् । अहिले निजामती विधेयकको विषयले उनी थप विवादमा छन् । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त भने भरखर मन्त्री बनेका हुन् । त्यसैले उनले निरन्तरता पाउने सम्भावना छ ।

कांग्रेस मन्त्रीहरूको कार्यशैली र परिणामको विषयमा केन्द्रीय कार्यसमितिको बैठकमा समेत प्रश्न उठेको थियो । कांग्रेस नेताहरूको भनाइमा सरकारको एक वर्षपछि मन्त्रीहरू हेरफेर हुने सम्भावना छ । त्यस्तो अवस्थामा परराष्ट्रमन्त्री आरजु राणाबाहेक सबै मन्त्री परिवर्तन हुने सम्भावना छ ।

यद्यपि, केही मन्त्री भने आन्तरिक समीकरणका कारणले पनि जोगिने सम्भावना छ । सबैभन्दा बढी विवादमा आएका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का शंशाक कोइरालाको कोटाबाट मन्त्री भएका कारण उनी सुरक्षित हुने प्रयासमा लागेका छन् ।

बजेटमा पक्षपात गरेको भन्दै सबैभन्दा बढी आलोचना भएका कांग्रेसबाट उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंह पनि रेडजोनमा रहेको नेताहरू बताउँछन् । सिंहको त संसदमा नै कांग्रेसकै सांसदहरूले चर्को विरोध गरेका थिए । सिंह आफूले निरन्तरता नपाए आफ्नो समूहका सांसद राजन केसीलाई मन्त्री बनाउन लबिङ गरिरहेका छन् । भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखक सबैभन्दा बढी आलोचना खेपिरहेका छन् । तर उनी हट्ने संभावान कम रहेको छ ।

कमजोर मन्त्रीमा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी रहेका छन् । उनले समय तोकिएको दशौँ राष्ट्रिय खेलकुद आयोजना गर्न सकेनन् । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार कांग्रेस नेता अफताम आलमलाई उच्च अदालत वीरगञ्ज इजलासबाट सफाइ दिने कुरामा जोडिएपछि कांग्रेसभित्र मात्र होइन बाहिर पनि उनको खुब आलोचना भैरहेको छ । स्वस्थ्यमन्त्री प्रदीप पौडेल, कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारी र वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही पनि हट्ने सम्भावना छ । प्रधानमन्त्री ओलीले साउनको पहिलो हप्तामै मन्त्रीहरु फेरबदल गर्ने सोचमा रहेको स्रोतको दावी छ ।

प्रतिक्रिया दिनुहोस्