
काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले रसुवागढी नाकामा हालै आएको बाढीले सवारीसाधन आपूर्तिमा गम्भीर अवरोध ल्याएको भन्दै चिन्ता व्यक्त गरेको छ ।
नाइमाकी अध्यक्ष ऋतु सिंह वैद्यले विज्ञप्ति जारी गर्दै रसुवागढी नाकामा रहेको ‘मितेरी पुल’ बगाएको घटनाले नेपालको सवारी आपूर्ति प्रणालीमा ठूलो प्रभाव पारेको बताएकी हुन् ।
साथै उनले बाढीले पुर्याएको क्षतिप्रति दुःख व्यक्त गर्दै चाडपर्व नजिकिँदै गर्दा यस्तो अवस्था आउनु झन् गम्भीर विषय बन्दै गएको बताएकी छन् ।
नेपालमा भित्रिने ६० प्रतिशतभन्दा बढी सवारीसाधन रसुवाको केरुङ नाका हुँदै आयात हुने गर्छन् । तर मितेरी पुल बगाएपछि उत्तरी नाकाबाट सवारी भित्र्याउने प्रक्रिया पूर्ण रूपमा रोकिएको छ ।
‘चिनियाँ भन्सारबाट क्लियर भइसकेका गाडीहरू अझै नेपाल प्रवेश गर्न सकेका छैनन्,’ विज्ञप्तिमा भनिएका छ, ‘यसले न केवल आयातकर्तालाई आर्थिक धक्का पुर्याएको छ, चाडपर्वको तयारीमा रहेका उपभोक्ता र बजार प्रणालीमा समेत प्रत्यक्ष असर पारेको छ ।’
नाइमाले रसुवामा बाढीले निम्त्याएको विपद्को तत्काल उद्धार, राहत, पुनःस्थापना र पूर्वाधार पुनर्निर्माणलाई सरकार तथा सम्बन्धित निकायले उच्च प्राथमिकता दिनुपर्ने समेत माग गरेको छ ।











