
काठमाडौं । सङ्घीय संसद्अन्तर्गत आज विभिन्न ६ वटा संसदीय समितिको बैठक बस्दै छ । बिहान साढे ११ बजे सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दैछ । बैठकमा बाढीबाट भएको क्षति, उद्धार र पुनस्र्थापना सम्बन्धमा छलफल हुने कार्यसूची छ ।
दिउँसो १ बजे बस्ने अर्थ समितिको बैठक बस्दैछ । बैठकको पहिलो सत्रमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयकमा संशोधन प्रस्ताव दर्ता गर्ने संशोधन प्रस्तावकसँग छलफल हुनेछ । दोस्रो सत्रमा नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जसँग समसामयिक विषयमा छलफल हुनेछ ।
त्यस्तै दिउँसो १ बजे नै बस्ने उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा हाल उपभोगमा रहेको आयोडिनयुक्त नुनको गुणस्तर तथा यसको सहज र सर्वसुलभ आपूर्ति एवं वितरणका सम्बन्धमा छलफल हुनेछ ।
त्यसैगरी सोही समयमा बस्ने कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ को सम्बन्धमा नेपाल कानुन व्यवसायी परिषद्सँग छलफल गर्ने कार्यसूची छ ।
सार्वजनिक लेखा समितिको बैठकमा २३औँ वार्षिक प्रतिवेदन उपर छलफल र पारित गर्ने कार्यसूची छ । बैठक दिउँसो १ बजे बस्नेछ । दिउँसो १ बजे नै बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ माथि दफावार छलफल गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।














