
काठमाडौं । सिन्धुपाल्चोकको भोटेकोशी–२ इकुमा पहिरो जाँदा अरनिको राजमार्ग अवरुद्ध भएको छ ।
आज बिहान करिब ५ बजेतिर इकुमा पहिरो खस्दा नेपाल–चीन जोड्ने मुख्य नाका तातोपानी पुग्ने सडक पूर्ण रूपमा अवरुद्ध भएको हो ।
माथिबाट पहिरो खस्ने र तलबाट भोटेकोशीले सडक कटान गरेपछि सडक सुचारु गर्न समस्या भएको सिन्धुपाल्चोक प्रहरीका प्रमुख रामेश्वर कार्कीले जानकारी दिए ।
उनका अनुसार सडक विभाग र प्रहरीले सडक खुलाउने प्रयास गरे पनि सम्भव भएको छैन । तातोपानी नाका हुँदै राजधानी आउन लागेका मालबाहक कन्टेनर भन्सार क्षेत्रमै रोकिएका छन् भने यात्रुबाहक बस, साना–ठूला सवारीसाधान र एम्बुलेन्स पनि बाटोमै रोकिएका छन् ।
रसुवा नाका बन्द भएपछि तातोपानी नाकाबाट व्यापार सहज हुने व्यापारीहरुले अपेक्षा गरेका थिए । तर, पहिरोका कारण सडक सडक पूर्णरुपमा अवरुद्ध भएपछि व्यापारीहरू चिन्तित भएका छन् ।














