काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीले विस्थापित ४०० भन्दा बढी व्यक्तिलाई पदमार्ग बनाएर सुरक्षित स्थानमा सारिएको छ । २४ असार मध्यरातमा आएको बाढीले धुन्चे–टिमुरे खण्डदेखि सीमानाकासम्मको सडक पूर्णरूपमा अवरुद्ध भएको छ ।

सशस्त्र प्रहरी बलका अनुसार, हालसम्म ४८५ जना फसेका व्यक्तिको उद्धार गरी पदमार्गमार्फत गन्तव्यतर्फ पठाइएको छ । साथै, रसुवागढी भन्सार कार्यालयको यार्डमा फसेका दुईवटा कन्टेनर र एकवटा इलेक्ट्रिक सवारी (ईभी) लाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।
बाढीमा परेर हालसम्म तीन प्रहरीसहित १४ नेपाली र छ चिनियाँ नागरिक बेपत्ता छन् । चारवटा शव र पाँचवटा मानव अङ्ग फेला परेका छन्, जसमध्ये एक शवको मात्र पहिचान भएको छ ।
फेला परेका शव र अङ्गहरूलाई परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगन्ज पठाइएको छ । यी शव र अङ्गहरू धादिङको गजुरी गाउँपालिका–६ बेल्खु, गल्छी–२ केउरेनिटार, बेनिघाट रोराङ–३ लामाबगर र चरौदी, गजुरी–२ मलेखु, नुवाकोटको विदुर–३ शिरखाली र मरनपाटी, रसुवाको उत्तरगया गाउँपालिका–५ उत्तरगयाधाम खोला र त्रिशूली नदीको किनारमा फेला परेका थिए ।
नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय बासिन्दाहरू उद्धार कार्यमा खटिएका छन् । मंगलबारयता बाढीको चपेटमा परेका ५० नेपाली, चार भारतीय र एक चिनियाँ नागरिकको सकुशल उद्धार भएको छ।बाढीले जोखिममा परेका १६५ घरपरिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।
बाढीले ४२ ईभी सवारी, २३ कार्गो कन्टेनर ट्रक, ६ ट्रक, लोडर, एक्स्काभेटर, ८ हेभी इक्विपमेन्ट, ३० वेल्डिङ मेसिन र २० ग्राइन्डिङ मेसिन बगाएको छ । रसुवागढी भन्सार क्षेत्रको ईभी चार्जिङ स्टेशन, रसुवागढी जलविद्युत आयोजनाको ड्याम, हेडवर्क्स, लेबर क्याम्प र चिलिमे जलविद्युत आयोजनाको सुरुङमार्गमा समेत क्षति पुगेको छ ।
भोटेकोशी खोलामा ९तिब्बततर्फ ल्हेन्दे खोला० आएको लेदोसहितको बाढीले रसुवा गोसाइकुण्ड गाउँपालिका–२ रसुवागढीमा रहेको नेपाल–चीन जोड्ने मितेरी पुल बगाएको छ । पुल बगाएपछि चीनसँगको व्यापार र आवतजावत पूर्णरूपमा ठप्प भएको छ । विद्युत् अवरुद्ध हुँदा मोबाइल टावरले समेत काम गर्न छोडेका छन् ।














