Logo
Logo

एमाले नेतृत्वको विरोध गर्ने नेता कारबाहीको नोटिसमा 


3.7k
Shares

काठमाडौं । नेकपा (एमाले) का स्थायी कमिटी सदस्य भानुभक्त ढकालले पार्टीभित्र नेतृत्वको विरोध गरेर मात्र नेता बन्ने मानसिकता त्याग्न कार्यकर्ता र पदाधिकारीहरूलाई निर्देशन दिएका छन् । जनसङ्गठनका पदाधिकारीहरूको भेलालाई सम्बोधन गर्दै उनले पार्टीको संस्थागत निर्णय नमान्ने र अनुशासन उल्लङ्घन गर्ने प्रवृत्तिप्रति कडा चेतावनी दिए ।  

The current image has no alternative text. The file name is: bhubhakta.gif

उनले यस्ता गतिविधि पार्टीको निगरानीमा रहेको र आवश्यक कारबाही हुने सङ्केत गरे । ‘पार्टीको नीति, विधि र विधानलाई चुनौती दिएर वा तलमाथि गरेर मात्र नेता बन्न सकिन्छ भन्ने गलत सोचाइ छ,’ ढकालले भने, ‘केही पदाधिकारीमा पार्टीको सामूहिक निर्णयलाई अवमूल्यन गर्ने र व्यक्तिगत स्वार्थलाई प्राथमिकता दिने प्रवृत्ति देखिएको छ । यस्ता गतिविधि पार्टीले नजिकबाट नियालिरहेको छ ।’ 

उनले पार्टीको महाधिवेशनबाट पारित विधानमाथि अनावश्यक टिप्पणी र आलोचना नगर्न पनि सचेत गराए । ढकालले पार्टीभित्र अनुशासन र एकताको महत्त्वमाथि जोड दिँदै नेतृत्वलाई कमजोर बनाउने वा अप्ठ्यारोमा पार्ने उद्देश्यले गरिने गतिविधि स्वीकार्य नहुने बताए । ‘नेतृत्वलाई कमजोर बनाउन खोज्ने वा अनावश्यक विवाद सिर्जना गर्नेहरूको गतिविधि नोटिसमा छ। यस्ता प्रवृत्तिलाई पार्टीले गम्भीर रूपमा लिन्छ,’ उनले थपे । 

उनले सबैलाई पार्टीको नीति र विधानअनुसार चल्न र सामूहिक हितलाई प्राथमिकता दिन आग्रह गरे । उनले जनसङ्गठनका पदाधिकारीहरूलाई जनतामाझ पार्टीको सिद्धान्त र एजेन्डा प्रभावकारी रूपमा पुर्‍याउन पनि निर्देशन दिए ।

 ‘पार्टीको विचार र नीतिलाई जनतामाझ पुर्‍याउनु हाम्रो मुख्य दायित्व हो । व्यक्तिगत स्वार्थ वा गुटबन्दीले यो उद्देश्य कमजोर हुनुहुँदैन,’ उनले भने । 

प्रतिक्रिया दिनुहोस्