काठमाडौं । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन) र काठमाडौं विश्वविद्यालयको संयुक्त आयोजनामा कक्षा ५ देखि १० सम्मका शिक्षकहरूलाई लक्षित एक दिने कृत्रिम बुद्धिमत्ता (एआई) प्रशिक्षण कार्यक्रम शुक्रवार सम्पन्न भएको छ ।

कार्यक्रमको अध्यक्षता नेसनल प्याब्सनकी अध्यक्ष गीता क्षेत्री राणाले गरेकी थिइन्। उनले २१औँ शताब्दीको शिक्षालाई प्रविधिमैत्री बनाउन एआईमा आधारित तालिमहरूको महत्त्वमाथि जोड दिँदै शिक्षकहरूको क्षमता विकासले शैक्षिक गुणस्तर वृद्धि हुने बताइन् । शिक्षा नीति तथा प्रशिक्षण आयोगका प्रमुख कर्ण बहादुर शाहीले गुणस्तरीय शिक्षाका लागि स्पष्ट नीतिगत मार्गचित्र आवश्यक रहेको उल्लेख गर्दै एआई पाठ्यक्रमले यसमा महत्त्वपूर्ण योगदान दिने बताए ।
प्रमुख प्रशिक्षक प्रा।डा। सुदन झाले एआईलाई सहायक उपकरणको रूपमा प्रयोग गर्नुपर्ने धारणा राख्दै यसको सन्तुलित उपयोगले शैक्षिक क्षेत्रमा क्रान्तिकारी परिवर्तन सम्भव भएको बताए । उनले पाठ्यक्रम विकासको आधार र संरचनाबारे पनि प्रकाश पारे।आईएनजी ग्रुपका सीईओ सुलभ बुढाथोकीले एआईको शैक्षिक उपयोग र सम्भावनामाथि मन्तव्य राख्दै शिक्षकहरूको दक्षताले भविष्यका लागि सक्षम विद्यार्थी तयार गर्न सकिने बताए ।
सहभागी शिक्षकका तर्फबाट द एक्सेलसियर स्कूल, काठमाडौँका प्रतीक सुवेदीले जटिल विषयलाई सरल र व्यवहारिक रूपमा प्रस्तुत गरेकोमा आयोजकलाई धन्यवाद दिए । कार्यक्रमको सञ्चालन महासचिव प्रताप बहादुर थापाले गरेका थिए ।











