काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद पशुपति शमशेर जबराले आफ्नो जीवनको मूल आधार नै राजनीति रहेको बताएका छन् । शुक्रवार काठमाडौंमा आफ्नो ८४औँ जन्मदिनको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले आफ्नो वंशज परम्परा पनि राजनीतिमा जोडिएको उल्लेख गर्दै दरबारी सुख–सुविधामा हुर्किएको भए पनि त्यस समयको राजनीति अत्यन्त चुनौतीपूर्ण रहेको स्मरण गरे । ‘मैले नेपालका विभिन्न क्षेत्रको भ्रमण गरी जनताको सुख–दुख नजिकबाट बुझ्ने अवसर प्राप्त गरेँ । मेरो जीवनको सबैभन्दा ऊर्जाशील समय राजनीतिमै बित्यो । कठिन परिस्थितिमा पनि देशका लागि महत्त्वपूर्ण योगदान दिने मौका पाएँ,’उनले भने ।
सांसद जबराले विभिन्न समयमा मन्त्रालयको नेतृत्व गर्दै जनताको सेवा गर्ने अवसर प्राप्त भएको पनि बताए । विशेषगरी वि।सं। २०३५ मा शिक्षामन्त्री हुँदा काठमाडौं उपत्यकाका प्राचीन मन्दिर र पुरातात्त्विक स्थलहरूलाई युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत गराउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेको उनले स्मरण गरे । “राजनीति मेरो प्राणमा बसेको छ। मेरो पारिवारिक पृष्ठभूमि पनि यही हो। दरबारी विलासमा हुर्किएको व्यक्तिका लागि त्यस समयको राजनीति गर्न निकै कठिन थियो,” उनले भने ।














