Logo
Logo

एमालेमा किन बढ्यो विद्याप्रति आकर्षण ?


प्रा. कृष्ण पोखरेल

27.3k
Shares


संवैधानिक हिसाबले पूर्वराष्ट्रपतिलाई सक्रिय राजनीतिमा आउन कुनै बन्देज छैन । अर्कोतिर नेपालको राजनीति चरम बेथितिमा छ । र, भाँडिएको छ । सत्ताका लागि जे पनि गर्न सक्ने अवस्थामा राजनीति पुगेको छ । गठबन्धन नगरी सरकार चल्दैन तर अहिले जोसँग पनि गठबन्धन गर्ने विकृति देखिएको छ

संसद्का दुई ठूला दल सत्ता गठबन्धनमा बस्नु झनै नमिल्ने कुरा हो । फेरि सरकारको डेलिभरी पनि शून्य छ । यो अवस्थालाई सुधार्नका लागि पहल, पर्यन्त गर्नैपर्छ । केन्द्रबाट देब्रेतिरका दलहरू एक ठाउँ, दाहिनेका दलहरू अर्को ठाउँ भयो भने एउटा सुस्पष्ट वैचारिक र कार्यक्रमिक गठबन्धन बन्छ ।

गठबन्धनले एउटा स्थिर सरकार दिन सक्ने बाटोमा लानुपर्ने हो नेपालको राजनीति । तर, अहिले त्यस्तो छैन । यस्तो अवस्थामा केन्द्रबाट देव्रेका राजनीतिक शक्तिलाई एक ठाउँमा ल्याउने हिसाबले सबभन्दा ठूलो बाधक केपी शर्मा ओली हुन् । त्यसकारण त्यसलाई सच्याउनका लागि जसले जहाँबाट पहल गरे पनि हुन्छ ।

राजनीति भाँडिएर गएको, बिग्रिएर गएको अवस्थामा राष्ट्रपति भइसकेको व्यक्ति भनेर मूकदर्शक भएर बस्नुभन्दा हस्तक्षेप गर्नु उचित हो । यसअर्थमा पूर्वराष्ट्रपति भण्डारीको प्रयत्नलाई सकारात्मक कोणबाट हेरेको छु ।

एमालेमा बढेको व्यक्तिकेन्द्रित निरंकुशतालाई धक्का दिन अब एमालेभित्र कोही रहेन । अहिले एमालेमा नेताहरू कि चुप लागेर बस्ने, कि झुकेर बस्ने मात्रै देखिए । यो बिन्दुमा पूर्वराष्ट्रपति भण्डारीको प्रवेशले निरंकुश हैकमलाई धक्का दिन सक्छ भने, त्यसलाई सकारात्मक रूपमा लिनुपर्छ । त्यसले एमालेको आन्तरिक लोकतान्त्रिक जीवनलाई पुनः स्थापित गराउँछ ।

राजनीतिमा सबै तिकडमले चल्दैन

आफ्नो भइरहेको हैकमलाई कोही तोड्न तयार भयो भने, हैकम भइरहेकाहरू रिसाउनु, आत्तिनु, आक्रोशित हुनु, आक्रामक हुनु स्वाभाविक हो । आफ्नो हैकमको स्वर्गमा हमला भएपछि जथाभाबी आरोप लगाएर आउनै नदिन प्रयत्न पनि हुन्छ । गर्भमै त्यसलाई मारिदियो भने त सकिइगयो ।

एमालेका अहिले हैकम जमाएर बसेकाहरूले अर्को पात्र नआओस् भनेर अनेक तिकडम गर्ने नै भए । तर, अहिले त्यति सजिलो छैन, जति भीम रावललाई पन्छाउन सजिलो थियो । रावलको कुनै सुनियोजित, योजनाबद्ध ढंगले कदम चालेको देखिएन । एउटा सनकको भरमा उभिएको स्थिति थियो ।

त्यसलाई संघर्षको रूपमा अघि बढाउने काम रावलबाट भएको थिएन। त्यसकारण रावल बाहिर धकेलिने अवस्था बन्यो । तर, अहिले भइरहेको प्रयास भनेको एमालेभित्रै रहेकाहरूमा जुन उकुसमुकुस छ, कुनै न कुनै किसिमले यसलाई अर्को दिशा दिनुपर्छ भन्नेहरूको अहिलेको प्रयास योजनाबद्ध देखिन्छ ।

भित्रैबाट जुन पात्र अगाडि आउँदै हुनुहुन्छ, जसको नाम भजाएर अहिलेसम्म एमालेभित्रको ओली पक्षले आफ्नो लुटको साम्राज्य खडा गरेका थिए । त्यसलाई वास्तविक हकदार मै हुँ भन्ने ढंगले मदन भण्डारीको विरासत मसँग छ भनेर आइसकेपछि अवस्था फेरिएको छ । हिजो त ओली र भण्डारी एकै ठाउँमा हुनुहुन्थ्यो ।

अहिले मदन भण्डारीको विरासतको असली हकदार ओली होइनन्, विद्या भण्डारी हुन् भन्ने ढंगको कुरा आउन थाल्यो । हिजोको जस्तो कुनै नेतालाई दूधबाट झिँगा फ्याँकेजस्तो फ्याँक्न सक्ने अवस्था विद्या भण्डारी वा ईश्वर पोखरेलको हकमा आउँदैन ।

ओलीको निरंकुश शैलीबाट वाक्क भएर, अति भएपछि ईश्वर पोखरेल मैदानमा उत्रिनुभएको देखिन्छ । वरिष्ठ उपाध्यक्ष नै मैदानमा उत्रिएपछि एमालेमा राम्रै हलचल ल्याएको छ । उहाँले विधिको कुरा उठाउनुभएको छ, त्यो राम्रो पक्ष हो । आफू हटेपनि विधि स्थापित होस् भन्ने उहाँको कुरालाई हल्का रूपमा लिन मिल्दैन । तिकडमबाजीमा ओलीलाई अरूले भेट्न सक्दैनन् । तर, राजनीतिमा सबै कुरा तिकडमकै भरमा मात्रै चल्दैन ।

पूर्वराष्ट्रपति भण्डारीको प्रयास

पूर्वराष्ट्रपति भण्डारीको प्रयास भनेको दबाब सिर्जना गरेर अन्ततः भिडन्त नगरी नेतृत्व हस्तान्तरणको अवस्थामा पु¥याउने देखिन्छ । अहिले म अध्यक्ष नै हुन्छु भनेर कुरा नगरी उहाँले ‘म अब एमालेमा सक्रिय हुन्छु’ भनेर आउनुभयो । दबाब यसरी सिर्जना गर्ने कि, मुठभेडमा जानुभन्दा ‘कम्प्रमाइज’ गरेर जानु नै ठिक हुन्छ भन्ने ठाउँमा पु¥याउन खोजेको देखिन्छ ।

अहिले पनि एमालेका केन्द्रीय नेताहरूले खुलेर धारणा राखिसकेका छैनन् । वार कि पारकै अवस्थामा भण्डारीको प्रयास जान्छ भन्ने भयो भने नेताहरू त्यसपछि खुल्छन् । अहिले पनि एमालेका नेताहरूमा ‘हामी पनि भीम रावलजस्तै पाखामा पर्छौँ कि’ भन्ने त्रास देखिन्छ । तर, भण्डारी खुलेर अगाडि आएको अवस्थामा नेताहरू खुल्दै जान्छन् ।

विधान महाधिवेशनबाट छिनोफानो

आगामी भदौँमा हुने एमालेको विधान महाधिवेशनमा उमेरहद र कार्यकालबारे वार कि पार हुन्छ । ७० वर्षे, दुई कार्यकाल वा आजीवन नेतृत्व गर्ने भन्ने विषयको छिनोफानो त्यही हुन्छ । ओलीलाई सहजै अघि जान सक्ने स्थिति अहिले छैन । यसपटक विधान महाधिवेशनले ओलीले जे चाहे त्यही अनुमोदन गर्ने सम्भावना देखिँदैन । विधानका कतिपय प्रावधान विधान महाधिवेशन नहुँदै हटाइएको कुरा सार्वजनिक भएको छ । त्यसको छिनोफानो पनि त्यही विधान महाधिवेशनमै हुन्छ ।

कतिपयले माक्र्सवादी दर्शनलाई आफूअनुकूल दुरुपयोग प्रयोग गर्न खोजेको पनि देखिन्छ । त्यसरी दुरुपयोग गर्नेहरू निरंकुश हुन् । त्यसो भए माक्र्सवादमा एमालेको अध्यक्ष केपी ओली हुनुपर्छ भनेर लेखिएको छ त ? ओलीले विगतमा एक व्यक्ति एक पद र एक कार्यकालको वकालत गरे पनि अध्यक्ष भइसकेपछि ती सबै विषय हराए । एमाले पंक्तिले त्यो ख्याल गरेर बसेको छ ।

मैले बुझेको के हो भने, अझै दबाब सिर्जना गरेर ओलीलाई प्रतिरक्षात्मक बनाएर जाने रणनीति भण्डारीको हो । घटनाक्रम कसरी अगाडि बढ्छ ? माथिदेखि तलसम्म कसरी पक्ष÷विपक्षमा नेता÷कार्यकर्ता लाग्छन् भन्ने कुरामा भरपर्छ । माथि मात्रै पक्ष÷विपक्ष हुने त होइन । मोरङमा ओलीको प्यानल हा¥यो । जिल्लामा पनि हा¥यो, नगरमा पनि हा¥यो ।

खानेपानीमा भएको विवादबाट त्यहाँसम्म पुग्यो । भण्डा बोक्नका लागि ठाउँठाउँमा नेता तथा कार्यकर्ता तयार छन् । कसको पक्षमा लाग्ने भन्ने ध्रुवीकरण बढ्दै जान्छ । भोलिको दिनमा को–को बिचमा प्रतिस्पर्धा हुन्छ भन्नेभन्दा पनि एमालेमा ओलीको एकछत्र हैकमको मोडलमा भूकम्प आएको छ । यसको परकम्प कहाँसम्म पुग्छ भन्ने कुरा चाहिँ समयले बताउँछ ।

जननेतामाथि कपोलकल्पित आरोप

चारवटा श्रीमती र सहकारी ठगको आरोप लगाउनुले अब ओलीका लागि मदन भण्डारीको उपयोगिता सकिएछ भन्ने अर्थ लगाएँ मैले । त्यसकारण ओली त्यो तहसम्म ओर्लिनुभयो । एक त त्यो तथ्य होइन, अर्को जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा त्यसरी भन्नु सरासर नाजायज हो । तपाईँले पत्रिकारिता गरेको कति भयो, मैले राजनीतिक गरेको त ओलीले भन्दा अगाडि हो । पछि मैले छोडेँ, तर पढ्ने, लेख्ने मान्छेमै पर्छु म ।

मैले अहिलेसम्म मदन भण्डारीमाथिको त्यो आरोप सुनेको थिइनँ । जल्दोबल्दो रूपमा मदन भण्डारी आएको बेला ती कुरा भएको भए कांग्रेसले बाँकी राख्थ्यो ? दुलाबाट निस्केर नेता हुन पाइँदैन भनेर आरोप लगाउने कांग्रेसले ओलीले भनेजस्तै भएको भए बाँकी राख्थ्यो त ? कपोलकल्पित आरोप लगाएर ओलीले मदन भण्डारीलाई रवि लामिछानेसँग दाज्न खोजे । अहिले चारवटी श्रीमती र सहकारी ठगको आरोप त रविलाई लागेको छ । ओलीले मदन भण्डारीलाई त्यही ठाउँमा पु¥याइदिन खोजे । त्यो निकृष्टताको पराकाष्ठा हो ।

वामपन्थी मोर्चाको सम्भावना

नेपालको राजनीतिमा भएको भाँडभैलोले एउटा किनार पाउँछ । एकता नै भइहाल्छ भन्न त गाह्रो छ । तर, मोर्चाबन्दी भएर वाम आन्दोलन अगाडि बढ्न सक्छ । एउटा कार्यक्रममा चुनाव लड्न सक्छन । त्यसले नेपाली कांग्रेसलाई पनि त्यसैगरी विचार मिल्ने दलहरूसँग मिलेर मोर्चा बनाउने अवस्थामा पु¥याउछ । त्यसले नेपालको राजनीतिलाई एउटा ट्र्याकमा ल्याउँछ ।

जस्तो भारतमा गठबन्धन संस्कार त, नेपालमा पनि त्यस्तै बन्न सक्छ । भारतमा २०औँ वर्षदेखि गठबन्धन संस्कार चलिआएको छ । त्यस्तो दीर्घकालीन मोर्चा नेपालमा पनि आवश्यक छ । जसले नेपालको राजनीतिक कोर्ष करेक्सन गरेर अगाडि जाओस् । त्यो काम केपी ओली छउन्जेल हुँदैन । विद्या भण्डारी आउने हो भने त्यो सम्भावना एकदमै बढेर जान्छ । अहिलेको जस्तो स्वार्थको गठबन्धनले राजनीति सुध्रिँदैन ।

पूर्वराष्ट्रपति आफैँ प्रधानमन्त्री पद लिने हिसाबले नआएर युवाहरूलाई अघि सारेर पनि काम गर्न सकिन्छ । युवाहरूलाई सबै चाँजोपाँजो मिलाइदिएर एउटा प्लाटफर्म बनाइदिने र अभिभावकको भूमिका निर्वाह गरेर पनि जान सकिन्छ । त्यसरी अगाडि बढ्ने हो भने, त्योभन्दा ठूलो नेता अरू को हुन्छ ? त्यसकारण आफैँले मात्र गर्नुपर्छ भन्ने होइन ।

एमालेभित्र ओलीले पार्टीभित्रको आन्तरिक लोकतन्त्रको लागि धेरै लडाइँ लड्नुभयो । सायद, त्यतिको लडाइँ अरू कसैले लडेको छैन । तर, विडम्बना के भइदियो भने उहाँ आउनेबित्तिकै आन्तरिक लोकतन्त्र समाप्त भइदियो । हिटलरले चुनाव नलडुञ्जेल त्यहाँको संविधानलाई सबैभन्दा लोकतान्त्रिक भन्थे । त्यही लोकतान्त्रिक संविधान भएको कारणले हिटलरजस्ता नाजी पनि जितेर आएका थिए । तर, हिटलरले चुनाव जितेपछि चुनाव भएन । एमालेमा पनि ओली आएपछि ठ्याक्कै त्यस्तै स्थिति बन्यो । त्यसको उकुसमुकुसमा अहिले एमालेका नेता तथा कार्यकर्ता छन् । त्यहीकारण एमालेमा अहिले पूर्वराष्ट्रपति भण्डारीको माग बढेको छ ।
(दृष्टिसँगको कुराकानीमा आधारित)

प्रतिक्रिया दिनुहोस्