जनकपुरधाम । मधेस प्रदेशमा बजेटमाथिको अवरोध हटाउन ६ सदस्यीय कार्यदललाई संशोधन गरी १४ सदस्यीय कार्यदल गठन गरिएको छ । शनिवारको प्रदेशसभा बैठकमा प्रतिपक्षी सांसदहरूले सभामुख रामचन्द्र मण्डलको संयोजकत्वमा गठित ६ सदस्यीय कार्यदलमा मन्त्रीहरूको नाम समावेश भएको भन्दै आपत्ति जनाएर बैठक अवरुद्ध गरेका थिए ।

सहमति पश्चात् पुनः बसेको बैठकमा सभामुख मण्डलले नयाँ कार्यदलका सदस्यहरूको नाम घोषणा गरे। सभामुख मण्डलले संयोजक पदबाट राजीनामा दिएपछि उपसभामुख बबिता राउत ईशरको संयोजकत्वमा १४ सदस्यीय कार्यदल गठन भएको छ । कार्यदलका सदस्यहरूमा मो। समीर, शारदा देवी थापा, चन्दन कुमार सिंह, शम्भु कुमार साह, जंगीलाल राय, नागेन्द्र साह, रमिता प्रधान, रामअशिष यादव, कनिष पटेल, जवाहरलाल कुशवाहा, विमला अन्सारी तरन्नम, कञ्चन विच्छा र उर्मिला देवी सिंह रहेका छन् ।
नेकपा एकीकृत समाजवादी पार्टीका प्रमुख सचेतक तथा कार्यदल सदस्य कनिष पटेलले आइतबारसम्म छानबिन पूरा गरी सोमबार प्रतिवेदन प्रदेशसभामा पेश गर्ने बताए । मधेस सरकारले आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गरेपछि करिब २३ मिनेट छलफल भएको थियो, तर त्यसयता प्रतिपक्षी सांसदहरूले बजेटमा बिचौलियाको प्रभाव रहेको भन्दै बैठक अवरुद्ध गर्दै आएका छन् । बैठक सोमबार बिहान ८ बजेसम्मका लागि स्थगित भएको छ ।











