बुटवल । कपिलवस्तुमा यात्रुवाहक बस दुर्घटना भएको छ । इलाका प्रहरी कार्यालय गोरुसिँगेका अनुसार काठमाडौंबाट दाङ जाँदै गरेको लुम्बिनी प्रदेश ०२–००१ ख ००४५ नं.को बस पूर्व–पश्चिम राजमार्गस्थित वेलनदीमा दुर्घटनामा भएको हो ।

बस अनियन्त्रित भई सडकको दायाँ साइडमा पल्टिँदा २६ जना यात्रु घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । आइतबार बिहान ४ बजेतिर भएको उक्त दुर्घटनालगत्तै घटनास्थल पुगेको इलाका प्रहरी कार्यालय गोरुसिङ्गे र ट्राफिक प्रहरीको टोलीले घाइतेहरूको उद्धार गरी अस्पताल पठाएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मोहनमणि अधिकारीले जानकारी दिए ।
प्रहरीका अनुसार घाइतेमध्ये गम्भीर अवस्थाका तीन जनालाई उपचारको लागि बुटवल रेफर गरिएको छ भने २१ जनाको चन्द्रौटास्थित सञ्जीवनी सामुदायिक अस्पतालमा उपचार भइरहेको छ ।
बुटवल रेफर गरिएकाहरूमा सल्यान बागचौर नगरपालिका वडा नंं १० बस्ने ७७ वर्षीय देवी बुढाथोकी, सल्यान सारदा नगरपालिका वडा नं. १२ का ५६ वर्षीय मोहनलाल बुढाथोकी र दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ का ३५ वर्षीय श्रीधर अधिकारी रहेका छन् ।
यस्तै, अन्य घाइते हुनेमा सञ्जीवनी सामुदायिक अस्पताल चन्द्रौटामा उपचार भइरहेका घाइतेहरूमा रुकुम पश्चिम आठबिसकोट नगरपालिका वडा नं. ८ ज्यामिरेका २८ वर्षीय मोतीलाल ऐरी, सोलुखुम्बु सोताङ गाउँपालिका वडा नं. ३ बस्ने २१ वर्षीय कोसिस गौतम, सल्यान चिद्द कुमाउ गाउँपालिका वडा नं.२ बस्ने १९ वर्षीय अनिता चलाउने र दाङ घोराही उपमहानगरपालिका वडा नं.१८ बस्ने ५२ वर्षीय सचिला नेपाली रहेका छन् । यस्तै, अर्घाखाँची सितगंगा नगरपालिका वडा नं. ८ बस्ने ६० वर्षीय टुक कुमारी श्रेष्ठ, सल्यान बागचौर नगरपालिका १० का २५ वर्षीय चित्र प्रसाद धिताल र रोल्पा परिवर्तन गाउँपालिका वडा नं.३ बस्ने ३१ वर्षीय ओम प्रकाश खड्का घाइते भएका छन् ।
त्यस्तै, अन्य घाइतेहरूमा दाङ राप्ती गाउँपालिका ४ बस्ने २८ वर्षीय रुपा चौधरी, रोल्पा गंगादेव गाउँपालिका वडा नं. ३ बस्ने ३९ वर्षीय हेमराज वली, पर्वत मादी गाउँपालिकाका ३९ वर्षीय खड्क बहादुर पुन, सल्यान छत्रेश्वरी गाउँपालिका १ बस्ने ४३ वर्षीय भीमबहादुर बि.क, सल्यान बागचौर नगरपालिका ४ बस्ने ४० वर्षीय इन्द्रबहादुर बि.क. रहेका छन् ।
यस्तै, प्रहरीका अनुसार दाङ तुलसीपुर उपमहानगरपालिका ११ बस्ने २१ वर्षीय ललित शर्मा, रोल्पा गंगा देव गाउँपालिका ३ का ३१ वर्षीय सन्दीप वली, डडेलधुरा आलीताल गाउँपालिका ४ का २२ वर्षीय विशाल बोहरा, दाङ दंगिशरण गाउँपालिका २ बस्ने २४ वर्षीय शर्मिला नेपाली, सल्यान छत्रेश्वरी गाउँपालिका ३ बस्ने ४२ वर्षीय रश्मी बोहरा र घोराही उपमहानगरपालिका ११ बस्ने ३९ वर्षीय वेदबहादुर वली पनि घाइते भएका छन् । उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।














