काठमाडौं । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले आगामी विधान महाधिवेशनमा ७० वर्षे उमेर हद हटाउने प्रस्ताव अघि बढाउने बताएका छन् । च्यासलस्थित केन्द्रीय कार्यालयमा आयोजित केन्द्रीय विभागहरूको भेलालाई सम्बोधन गर्दै उनले केन्द्रीय कमिटीको बैठकले स्थगित गरेको उमेर हदसम्बन्धी प्रावधानलाई विधान महाधिवेशनबाट अनुमोदन गराउनु कमिटीको दायित्व भएको स्पष्ट पारे ।

पोखरेलले विधानका केही प्रावधानबारे हाल विवाद र भ्रम सिर्जना गर्ने प्रयास भइरहेको उल्लेख गर्दै ती विषयमा स्पष्टता ल्याइने बताए । उनले २०७८ मङ्सिर १० मा सौराहामा भएको केन्द्रीय कमिटी बैठकमा तत्कालीन उपमहासचिव विष्णुप्रसाद पौडेलको प्रस्तावमा विधान संशोधनका लागि छलफल भएको स्मरण गरे ।
उनले भने, ‘२०७८ मा गोदावरीमा भएको पहिलो विधान महाधिवेशनले २२५ सदस्यीय केन्द्रीय समिति र १५ सदस्यीय पदाधिकारीको व्यवस्था गरेको थियो । तर, पार्टीमा देखिएको सङ्कट व्यवस्थापनका लागि ३०१ सदस्यीय केन्द्रीय कमिटी र १९ पदाधिकारीको व्यवस्था गरिएको हो ।’
पोखरेलले विधानको दोस्रो संशोधनमार्फत केन्द्रीय निकायमा १५ सदस्यीय समितिलाई २५ सदस्यीय बनाइएको बताए । साथै, विधान महाधिवेशनमा अध्यक्ष पदमा दुई कार्यकाल मात्र उम्मेदवार हुन पाउने प्रावधानलाई संशोधन गरिएको उनले उल्लेख गरे ।
उनले भने, ‘हामीले नेतृत्वमा चाहेको व्यक्ति आठौँ महाधिवेशनमा पनि अध्यक्षको उम्मेदवार हुनुहुन्थ्यो र नवौँमा विजयी हुनुभयो । विधानको दुई कार्यकालको प्रावधानले उहाँलाई रोक्ने देखिएपछि यो प्रावधान संशोधन गरिएको हो ।’ यही प्रावधानका आधारमा पुष्प कँडेल तेस्रो पटक लेखा आयोगको अध्यक्षमा चयन भएको पोखरेलले बताए ।











