Logo
Logo

कांग्रेस-एमालेले संसद् ‘बिचौलियाको खेलमैदान’ बनाएः प्रचण्ड


630
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश गम्भीर बहुआयामिक संकटतर्फ उन्मुख भएको बताएका छन् ।

सोमबार प्रतिनिधिसभामा विशेष सम्बोधन गर्दै अध्यक्ष दाहालले विस्तृत शान्ति सम्झौता र संविधान निर्माणको क्रममा जनतासँग गरिएको सपना र प्रतिबद्धता अहिलेको वास्तविकता र सत्ताको कार्यशैलीसँग मेल नखाने बताएका हुन् । उनका अनुसार, वर्तमान सत्ताको चरित्रले ती सपना र संकल्पलाई अपमानित मात्र होइन, पूर्णतया ध्वस्त बनाएको छ ।

प्रचण्डले संसद् र संसदीय समितिहरूको कामप्रति असन्तुष्टि जनाउँदै भने, ‘‘समितिमा सर्वसम्मत पारित भएका विधेयकहरू समेत प्रतिनिधिसभामा पुगेपछि चलखेल र हस्तक्षेपका कारण अघि बढ्न सक्दैनन्।’

उनले संसदलाई ‘विचौलियाको खेलमैदान’ बनाएको आरोप दुई ठूला दलमाथि लगाउँदै भने, ‘‘यो प्रवृत्ति देश र जनताको दृष्टिमा अत्यन्त लज्जास्पद र खेदजनक छ।’

प्रचण्डले सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको मार्गमा सरकार गम्भीर ढंगले लाग्नुपर्नेमा जोड दिए। उनले चेतावनी दिँदै भने, ‘‘यदि गम्भीर आत्मसमीक्षा र कठोर निर्णयहरू गरिएनन् भने परिस्थिति विस्फोटक हुनसक्छ।’

उनले नियामक निकायहरू समेत दलाल र बिचौलियाको इशारामा सञ्चालन भइरहेको आरोप लगाए। धितोपत्र बोर्ड, भुटानी शरणार्थी काण्ड, जग्गा घोटाला, विद्युत् बक्यौता मिनाहा, भूमाफिया संरक्षण तथा सरुवा–नियुक्तिमा हुने करोडौंका चलखेललाई उदाहरणका रूपमा प्रस्तुत गर्दै उनले प्रश्न उठाए– ‘‘यी सबैमा कसको इशारा चलिरहेको छ ?’

वर्तमान सरकारलाई ‘दलाल र बिचौलियाको स्वार्थमा चलेको अपवित्र गठबन्धन’ भन्दै उनले भने, ‘‘सरकार बनाउँदा दिइएको तर्कको पछाडि लुकेको स्वार्थ यति नाङ्गो रूपमा उजागर भएको छ कि लोक नै लाज मान्ने अवस्थामा पुगेको छ।’

उनले अर्बौंको सेटिङ उल्ट्याउने प्रयासलाई रोक्न बनेको यो गठबन्धन आफैंले आफ्नो संकुचित, अनैतिक र अलोकतान्त्रिक चरित्र प्रदर्शन गरिसकेको टिप्पणी गरे।

प्रतिक्रिया दिनुहोस्