Logo
Logo

एमाले पार्टी नेतृत्वलाई बाहिर रहेका नेताको जिम्मेवारी तोक्न अनुरोध 


2.1k
Shares

काठमाडौं । नेकपा एमालेको सङ्गठन विभागको हालै सम्पन्न बैठकले गत माघदेखि चैतसम्म सञ्चालित वडाकेन्द्रित ‘जरा अभियान’ले पार्टी र जनताबीचको सम्बन्धमा सुधार आएको निष्कर्ष निकालेको छ । सङ्गठन विभागका सचिव माधव ढुंगेलद्वारा जारी विज्ञप्तिमा यो अभियानले पार्टी गतिविधिलाई चलायमान बनाएको, स्थानीय संरचनाहरू सक्रिय भएको, अधिकांश कमिटीहरूको अधिवेशन सम्पन्न भएको र पार्टी सदस्यता नवीकरण तथा विस्तारमा उल्लेख्य प्रगति भएको उल्लेख छ ।

The current image has no alternative text. The file name is: yamale.gif

बैठकले अधिवेशनमा जिम्मेवारी नपाएका नेताहरूलाई तत्काल जिम्मेवारी दिन पार्टी नेतृत्वसँग अनुरोध गर्ने निर्णय गरेको छ । विज्ञप्तिअनुसार, जरा अभियानले नेता–कार्यकर्ताको सक्रियता बढाएको र निर्णय कार्यान्वयनमा सुधार आएको छ । यस अभियानले जनसङ्गठनहरूलाई आफ्नो समुदायमा स्थापित हुन मद्दत गरेको छ ।

हालसम्म ९८ प्रतिशत पालिका कमिटी र ८५ प्रतिशत वडा कमिटीहरूको अधिवेशन सम्पन्न भएको छ। यस्तै, १७ हजार टोल कमिटीमध्ये १० हजारभन्दा बढी गठन भएको सङ्गठन विभागले जनाएको छ । 

पार्टीका २३ वटा जनसङ्गठनका महाधिवेशन सम्पन्न भएका छन् । ७७ जिल्लामध्ये ४९ वटामा निर्वाचनमार्फत र २८ वटामा सर्वसम्मत नेतृत्व चयन भएको छ ।

एमालेले पार्टी सदस्यता नवीकरणका लागि अनिवार्य परीक्षा सञ्चालन गर्ने र मतदाताको ६ प्रतिशत पार्टी सदस्य बनाउने लक्ष्य राखेको छ । पार्टीका आधारभूत मूल्य स्थापित गर्न, डिजिटलाइजेशन र प्रणालीमा अभ्यस्त गराउन विशेष अभियान सञ्चालन गर्ने प्रस्ताव पनि पारित भएको छ । 

बैठकले समुदायसँग जोडिन जनसङ्गठन अभियान, लघु प्रशिक्षण, जिल्लास्तरीय एमाले प्रोफाइल निर्माण र दुई पुस्तालाई जोड्ने कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ । साथै, आगामी विधान महाधिवेशनका लागि मर्यादित भाषामा संशोधन प्रस्तावहरू पठाउन सबै कमिटीलाई निर्देशन दिइएको छ । 

प्रतिक्रिया दिनुहोस्